Logo

कोशी

प्रजातन्त्र दिवसमा प्रदेश सरकारले स्वंयसेविकाहरूको सम्मान गर्ने



विराटनगर । कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा प्रदेश भरिका महिला स्वयंसेविकाहरुलाई सम्मान गर्ने भएको छ ।

उनीहरुलाई प्रोत्साहनसाथ प्रदेश राजधानी विराटनगरमा सम्मान गरिने सरकारले जनाएको छ । विभिन्न कार्यक्रमका साथ तीन दिन (फागुन ६-८) सम्म दिवस मनाइने भएको छ ।

मुख्यमन्त्री केदार कार्कीले शिशु गर्भमा आएदेखि नै गर्भवती र त्यसपछि सुत्केरी महिलाको हेरचाहमा दिनरात खटिने स्वयम् सेविकालाई प्रोत्साहनसाथ सम्मान गर्ने तयारी भएको बताएका छन् ।

स्वयंसेविकाहरुले आफ्ना बालबच्चाको समेत ख्याल नगरी अरुको सेवामा अहोरात्र खटिने गरेको तर मासिक ७ सय मात्र पारिश्रमिक प्राप्त गर्ने अवस्था छ ।

प्रदेश सरकारले स्वास्थ्य महिला स्वंसेविकालाई नगद प्रदेशका प्रत्येक जिल्लाबाट एक-एक जनालाई नगद १५ हजारसहित प्रमाण पत्रका साथ सम्मान गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१४ जिल्लाका एक एक महिला स्वास्थ्य स्वंसेविकालाई नगद १५ हजारका प्रमाण पत्र, चाँदीको सिक्काको लोगो, साडी, झोला छाता टर्चलाइटलगायत सामग्री उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरु उत्साहित भएका छन् । प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ता पुरस्कृत गर्ने निणर्यले आफूहरू उत्साहित भएको नेपाल महिला स्वास्थ्य स्वयंसेविका संघ कोशी इन्चार्ज रत्ना रिजालले बताइन् ।

स्वयंसेविकाले गरिरहेको दुःखलाई सम्झेर प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्थाले अझ जिम्मेवार भएर काम गर्न प्रेरित गर्ने उनको भनाइ छ । उनका अनुसार हाल कोशी प्रदेशमा ६ हजार महिला स्वास्थ्य स्वयंसेविका महिलाले सेवा गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : ३३ बजे