Logo

समाचार

लागूपदार्थ र प्रतिबन्धित औषधिसहित ८ जना पक्राउ



विराटनगर । लागूपदार्थ र प्रतिबन्धित औषधि कारोबारमा सक्रिय आठजना व्यक्तिलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ ।

झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बिहीबार साँझ लागूऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी डाइनियाबाट खटिएको टोलीले मोरङको सुनवर्षी नगरपालिका–६ मा प्र–१–०२–००३ ह १२१२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा गाँजा फेला पारेको थियो ।

अटोमा सवार मोरङको रतुवामाई नगरपालिका–१० का ५० वर्षीय महेन्द्र साह र ५० वर्षीया निरिसादेवी साहलाई पक्राउ गरेको हो । चालक ४५ वर्षीय लीलबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले तेह्रथुमको छथर गाउँपालिका–५ की ४६ वर्षीया नर्बदा लिम्बुलाई विराटनगर–१५ बाट ११३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

यस्तै, उदयपुरको कटारी नगरपालिका–३ मा बा ४४ प ७८२७ नम्बर मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय करण लिम्बु र १९ वर्षीय विशाल तामाङलाई विभिन्न नामका लागूऔषधिसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उता, भपापाको बिर्तामोड नगरपालिका–३ का २२ वर्षीय कृष्णकुमार थापा र २३ वर्षीय अजय राजवंशीलाई १ ग्राम १७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : ०० बजे