Logo

मुख्य समाचार

बरहथवा घटना : मृतकको शव अझै घटनास्थलमै,यस्तो छ उनीहरूकाे माग



काठमाडौं । सर्लाहीको बरहथवा घटनामा मृत्यु भएका व्यक्तिको शव अझै घटनास्थलबाट उठाइएको छैन । गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।

उनको शव अझै घटनास्थलबाट नउठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । शव उठाउनका निम्ति स्थानीयले विभिन्न माग अघि सारेको उनले बताए ।

शव उठाएर दाहसंस्कार गर्न मृतकलाई सहिद घोषणा गर्नुपर्ने, पीडित पक्षलाई क्षतिपूर्तिलगायत माग गरिएको उनले जानकारी दिए ।

यस्तै, घटनाका दोषीमाथि कारबाही, गोली चलाउने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ ।

बरहथवास्थित १५ शय्याको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गर्नुपर्ने, मृतकको सालिक बनाउनुपर्ने पनि उनीहरूले माग गरेका छन् ।

“मृतकलाई सहिद घोषणा गर्नुपर्ने, बरहथवा नगरपालिका–६ मा मृतकको स्ट्याचु (सालिक) बनाउनुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने, १५ शय्याको अस्पताललाई ५० शय्याको बनाउनुपर्ने उहाँहरूको माग छ,” उनले भने ।

मृतकको अन्तिम संस्कार र पीडित पक्षको मागका विषयमा छलफल जारी रहेको उनले बताए । स्थानीयले प्रदर्शन पनि जारी राखेका छन् ।

यसैबीच, घटनामा गोली चलाउने प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता गरिएको उनले जानकारी दिए ।

यता, घटनामा ज्यान गुमाएका साहका परिवारलाई सरकारले राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति पनि बनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : १५ बजे