विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्ति भएका एमालेका हिक्मतकुमार कार्कीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । ६० जना सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई २४ घण्टा नबित्दै माओवादी केन्द्रले केन्द्रीय सत्ता गठबन्धन दलबीचको सहमतिमा असन्तुष्टि सार्वजनिक गरेपछि कार्कीलाई सकस भएको हो । केन्द्रमा भएको गठबन्धन दलको बैठकले प्रदेश १ सरकारको मुख्यमन्त्रीमा आलोपालो नगरी एमालेको एकलौटी हुने निर्णय सार्वजनिक भएको थियो । उक्त निर्णयपछि माओवादी केन्द्र प्रदेश १ ले आफूहरु अपमानित भएको भन्दै निर्णय सच्चिएर लिखित सहमति भएपछि मात्रै सरकारमा जाने बताएको छ । १३ जना सांसद रहेको माओवादी केन्द्रले समर्थन भने दिइसकेको छ । यद्यपि उसले समर्थन फिर्ता लिएको अवस्थामा कार्कीलाई झिनो बहुमत मात्रै हुनेछ । एमाले, राप्रपा र जसपाको मत ४७ हुन्छ । ९३ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।
प्रतिक्रिया