काठमाडौं । बेलायत (लन्डन)स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल र बेलायतबीचको व्यापार तथा लगानी सम्बन्ध अझै सम्भावनाअनुसार विस्तार हुन नसकेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित युके–नेपाल व्यापार मञ्चलाई सम्बोधन गर्दै उनले नेपाल र बेलायतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरमा बलियो सम्बन्ध रहे पनि द्विपक्षीय व्यापार वार्षिक करिब ३० करोड पाउन्डमा सीमित रहेको बताए ।
उनले बेलायत विश्वकै प्रमुख अर्थतन्त्रमध्ये एक हुनुका साथै वित्तीय सेवा, फिनटेक, कृत्रिम बौद्धिकता, प्रविधि र विश्वव्यापी व्यापारमा बलियो उपस्थिति रहेको उल्लेख गरे । यस्तो अवस्थामा नेपालले बेलायतसँगको आर्थिक सहकार्यलाई थप विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।
दुवाडीले नेपाल र बेलायतबीच व्यापार तथा लगानी विस्तारका लागि सेवा क्षेत्र, सञ्जाल तथा सम्पर्क विस्तार, जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, कृषि तथा कृषि प्रशोधन, पूर्वाधार, उत्पादनमूलक उद्योग र सूचना प्रविधिलाई प्रमुख सम्भावनाका क्षेत्रका रूपमा प्रस्तुत गरे ।
उनका अनुसार बेलायतको कुल आयातमा सेवा क्षेत्रको हिस्सा करिब ६६ प्रतिशत रहेको छ । सन् २०२४ मा बेलायतले करिब ६ खर्ब ४१ अर्ब पाउन्ड बराबरको वस्तु तथा सेवा आयात गरेकोमा सेवा क्षेत्रको आयात मात्रै करिब ४ खर्ब २४ अर्ब पाउन्ड रहेको उनले जानकारी दिए ।
यसले नेपालका लागि पर्यटन, सूचना प्रविधि, पेसागत सेवा, सिर्जनशील उद्योग तथा ज्ञानमा आधारित व्यवसायमार्फत बेलायतसँग व्यापार विस्तार गर्ने ठूलो अवसर रहेको देखाउने उनले बताए ।
त्यस्तै, भारत र चीनसँग बेलायतको ठूलो व्यापारिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले छिमेकी मुलुकका व्यावसायिक समुदायसँगको सम्पर्क र सहकार्यबाट नेपालले पनि लाभ लिन सक्ने बताए । यसका लागि नेपाली व्यवसायीको अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, ज्ञान आदानप्रदान र व्यावसायिक सम्झौताका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।
जलविद्युत् तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै दुवाडीले बेलायती कम्पनीलाई ऊर्जा विकास, प्रसारण पूर्वाधार, ऊर्जा भण्डारण, परियोजना वित्तीय व्यवस्थापन र हरित लगानीमा सहभागी हुन आह्वान गरे । बेलायती विशेषज्ञता र पुँजी परिचालन गर्न सके नेपाललाई स्वच्छ तथा दिगो ऊर्जाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।
त्यसैगरी, नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, जैविक विविधता र आध्यात्मिक परम्परालाई पर्यटन लगानीको प्रमुख आधारका रूपमा प्रस्तुत गरे । परम्परागत पदयात्रा र पर्वतारोहणसँगै आरोग्य पर्यटन, साहसिक पर्यटन, सम्पदा पर्यटन तथा आतिथ्य पूर्वाधारमा बेलायती लगानीकर्ताका लागि अवसर रहेको उनले बताए ।
कृषि तथा कृषि प्रशोधनका क्षेत्रमा पनि बेलायती कम्पनीसँग सहकार्य गर्न सकिने उनको भनाइ थियो । नेपालको विविध भौगोलिक अवस्था र हावापानीका कारण उच्च मूल्यका कृषि उपज, जैविक खेती, खाद्य प्रशोधन, शीतभण्डार पूर्वाधार र कृषि प्रविधिमा लगानीको सम्भावना रहेको उनले बताए ।
दुवाडीले सूचना प्रविधि तथा डिजिटल सेवाको क्षेत्रलाई तत्काल सहकार्य गर्न सकिने सम्भावनायुक्त क्षेत्रका रूपमा औँल्याए । नेपालमा प्राविधिक रूपमा सक्षम युवा जनशक्ति बढ्दै गएको भन्दै सफ्टवेयर विकास, व्यावसायिक प्रक्रिया बाह्यस्रोतबाट सञ्चालन, लेखा तथा वित्तीय सेवा, डिजिटल बजारीकरण र साइबर सुरक्षामा नेपाली कम्पनीले अन्तर्राष्ट्रिय बजारमा अवसर खोज्न सक्ने बताए ।








प्रतिक्रिया