Logo

समाचार

काँग्रेसमा बाँकी छ एकताको सम्भावना



नेपाली काँग्रेसको १५औँ महाधिवेशन अब निर्णायक चरणमा प्रवेश गरेको छ । मंगलबार साँझसम्म विभिन्न पदमा आकांक्षीहरूले उम्मेदवारीको दाबी प्रस्तुत गरिसकेका छन् । सभापतिका लागि किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले गगन थापाविरुद्ध उम्मेदवारी दिने बताए पनि महाधिवेशनको समग्र मनोविज्ञान र विकसित राजनीतिक समीकरणले थापालाई बलियो दाबेदारका रूपमा उभ्याएको छ । निर्वाचनको औपचारिक परिणाम आउन बाँकी रहे पनि कांग्रेसको भावी नेतृत्वको दिशाबारे धेरै कुरा स्पष्ट भइसकेको देखिन्छ ।
विषम राजनीतिक परिस्थितिबीच आयोजना भइरहेको महाधिवेशनको उद्घाटन सत्रमा खुलामञ्चमा देखिएको आकर्षण कांग्रेसका लागि सामान्य उपलब्धि होइन । केही समययता कांग्रेसको संगठन, नेतृत्व र जनसम्बन्धबारे उठिरहेका प्रश्नका बीच देखिएको यो उपस्थितिले पार्टीप्रति जनचासो अझै समाप्त नभएको प्रमाणित गरेको छ । राजनीतिक दलका लागि जनताको ध्यान तान्न सक्नु आफैंमा महत्वपूर्ण पूँजी हो ।
गगन थापाले पार्टी सम्हाल्न सक्लान् कि नसक्लान् भन्ने आशंका पनि कम थिएन । तर अहिले उनी नेतृत्वको दौडमा अगाडि देखिँदा कांग्रेसका वरिष्ठ नेताहरू नै उपसभापतिलगायत महत्वपूर्ण पदमा जान इच्छुक देखिनुले एउटा गतिलो सन्देश दिएको छ । गगनको नेतृत्वलाई पार्टीभित्र स्वीकार गर्ने मनोविज्ञान अझ बलियो र फराकिलो बन्दैछ । यो गगन थापाको व्यक्तिगत सफलता मात्र होइन, लामो समयदेखि प्रतिक्षित पुस्तान्तरणको संकेत पनि हो ।
तर नेतृत्व परिवर्तन आफैंमा कांग्रेसको समस्या समाधानको अन्तिम उत्तर भने पक्कै होइन । नयाँ सभापतिले पार्टीभित्रको गुटगत मनोविज्ञान, संगठनको जडता, जनतासँगको कमजोर सम्बन्ध र बदलिँदो राजनीतिक अपेक्षालाई एकैपटक सम्बोधन गर्नुपर्नेछ । त्यसका लागि नयाँ नेतृत्वलाई अनुभवको साथ र पुरानो पुस्तालाई नयाँ सोच स्वीकार गर्ने उदारता दुवै आवश्यक छ ।्
यही ठाउँमा शेरबहादुर देउवाको भूमिका विशेष अर्थपूर्ण हुन्छ । देउवालगायत केही नेताबाट भइरहेका समानान्तर गतिविधिले पार्टीभित्रको संक्रमण अझै सकिएको छैन भन्ने देखाउँछ । तर, यस्ता गतिविधिले आमजनतामा अपेक्षित आकर्षण पैदा गरेको देखिँदैन । राजनीति अन्ततः संगठनभित्रको शक्ति प्रदर्शन मात्र होइन, जनताको विश्वास जित्ने प्रयत्न पनि हो ।
रुख र चारतारे झण्डा गगन थापाको नेतृत्वसँगै उभिएको अवस्थामा आधिकारिकताको विवादले पनि खासै अर्थ राख्दैन । अब प्रश्न कांग्रेस कसको हो भन्ने होइन, कांग्रेस कस्तो बन्ने हो भन्ने हो । यही प्रश्नको उत्तर नयाँ नेतृत्वले दिनुपर्नेछ ।
यस सन्दर्भमा देउवासँग अझै एउटा महत्वपूर्ण अवसर बाँकी छ । उनले चाहे भने महाधिवेशनलाई केवल नेतृत्व परिवर्तनको औपचारिकता बन्न नदिई सम्पूर्ण कांग्रेसलाई एकताको सन्देश दिने ऐतिहासिक क्षण बनाउन सक्छन् । अभिभावकीय भूमिका निर्वाह गर्दै नयाँ नेतृत्वलाई सहज वातावरण बनाइदिने र असन्तुष्ट पक्षलाई पनि मूलधारमा समेट्ने उदारता देखाउनु नै उनको राजनीतिक परिपक्वताको परिचय हुनेछ । त्यसका लागि समय अझै घर्किसकेको छैन ।
कांग्रेसलाई अहिले प्रतिशोध होइन, पुनर्निर्माण चाहिएको छ; गुट होइन, एकता चाहिएको छ; विगतको शक्ति संघर्ष होइन, भविष्यको राजनीतिक दृष्टि चाहिएको छ । गगन थापाको सम्भावित विजयलाई यही अर्थमा हेरिनुपर्छ । उनले जिते भने त्यो एउटा व्यक्तिको विजयभन्दा बढी कांग्रेसले आफूलाई बदल्ने अवसर हुनेछ ।
महाधिवेशनपछि कांग्रेस एकताबद्ध, ऊर्जाशील र जनताको विश्वास पुनः अर्जित गर्ने संकल्पसहित अघि बढ्न सक्यो भने मात्र १५औँ महाधिवेशन ऐतिहासिक बन्नेछ । त्यसका लागि जित्ने पक्षमा विनम्रता र असहमत पक्षमा स्वीकार्यता आवश्यक छ । अन्ततः महाधिवेशनले नेता मात्र छान्ने होइन, कांग्रेसको आगामी राजनीतिक चरित्र पनि निर्धारण गर्नेछ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ७ : ५५ बजे