विराटनगर। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट १२.७४ प्रतिशतले वृद्धि भएको जानकारी दिए।
कुल बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड २० लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। स्थानीय तहका लागि पाँच अर्ब ५६ करोड ३६ लाख रुपैयाँ छुट्याइएको छ।
बजेटका लागि प्रदेश सरकारले विभिन्न स्रोतबाट आम्दानी जुटाउने लक्ष्य राखेको छ। आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड रुपैयाँ तथा वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब १२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै, ससर्त अनुदानबाट पाँच अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। सोझै भुक्तानी प्रणालीमार्फत २० करोड रुपैयाँ व्यवस्थापन गरिने तथा पाँच अर्ब रुपैयाँ नगद मौज्दातबाट व्यहोर्ने योजना बजेटमा समावेश गरिएको छ।
प्रदेश सरकारले पूर्वाधार विकास, उत्पादन वृद्धि, सेवा प्रवाह सुधार तथा आर्थिक गतिविधि विस्तारलाई आगामी आर्थिक वर्षको बजेटका प्रमुख प्राथमिकता बनाएको जनाएको छ।








प्रतिक्रिया