काठमाडौं – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह ले आउँदो आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै अर्थमन्त्री स्वर्णिम वाग्ले सँग गरिब वर्गले बजेटबाट के लाभ पायो भन्ने प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सिंहले बजेटले सार्वजनिक शिक्षालाई प्राथमिकता नदिएको बताए। उनले सातै प्रदेशमा काठमाडौंको बूढानीलकण्ठ विद्यालय जस्तै आवासीय विद्यालय स्थापना गर्ने व्यवस्था बजेटमा समावेश हुनुपर्ने धारणा राखे।
सिंहले कर्मचारीको तलब तथा सुविधामा वृद्धि गरिए पनि गरिब समुदायका लागि ठोस कार्यक्रम नदेखिएको टिप्पणी गरे। उनले तीन करोड जनसंख्याको तुलनामा सरकारी कर्मचारीको संख्या न्यून रहेको उल्लेख गर्दै बजेटले आम नागरिक, विशेषगरी विपन्न वर्गलाई सम्बोधन गर्न नसकेको बताए।
उनले मुसहर र चेपाङ समुदायको जीवनस्तरप्रति आफ्नो चिन्ता रहेको उल्लेख गर्दै बजेट कार्यान्वयन हुनेमा समेत आशंका व्यक्त गरे।
सांसद सिंहले दक्षिण एसियाका मुलुकहरूमध्ये जीडीपीको करिब ३२–३३ प्रतिशत बराबरको बजेट बनाउने अभ्यास दुर्लभ रहेको दाबी गर्दै प्रस्तुत बजेटलाई “फुकेको ठूलो बेलुन” को संज्ञा दिए। उनले यस्ता आकारका बजेट दीर्घकालीन रूपमा कार्यान्वयन हुन कठिन हुने भन्दै बजेट कार्यान्वयनप्रति आफू विश्वस्त नरहेको बताए।








प्रतिक्रिया