काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मुलुकका मूल समस्या समाधान गर्न केन्द्रित नभएको बताएका छन्।
प्रतिनिधिसभामा बिहीबार बजेटमाथिको छलफलमा भाग लिँदै साम्पाङले बजेटको प्राथमिकताप्रति असन्तुष्टि जनाए। उनले मुलुकको विद्यमान समस्यालाई ‘खुट्टाको घाउ’ र विकासलाई ‘नयाँ जुत्ता’सँग तुलना गर्दै बजेट समस्या समाधानभन्दा नयाँ योजना र कार्यक्रमतर्फ बढी केन्द्रित भएको टिप्पणी गरे।
साम्पाङले दैनिक उपभोगका वस्तु तथा सेवाको मूल्य वृद्धि नियन्त्रणतर्फ बजेटले पर्याप्त ध्यान नदिएको बताए। उनले पेट्रोलियम पदार्थको मूल्य नेपालमा अत्यधिक महँगो रहेको उल्लेख गर्दै त्यसलाई घटाउने विषय बजेटमा समेटिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले बजेट निर्माण गर्दा मुलुकका आधारभूत समस्या पहिचान गरी तिनको समाधानलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
साम्पाङले अर्थमन्त्रीले बजेट वक्तव्यमा सर्वसाधारणका लागि घर निर्माण गरी बिक्री गर्ने योजना उल्लेख गरेको विषयप्रति पनि आपत्ति जनाए। सरकारको मुख्य भूमिका शान्ति–सुरक्षा कायम गर्ने तथा नागरिकलाई सेवा–सुविधा उपलब्ध गराउने भएको उल्लेख गर्दै उनले सरकार रियल स्टेट वा जग्गा व्यवसायमा संलग्न हुने निकाय नभएको बताए।








प्रतिक्रिया