Logo

मुख्य समाचार

प्रधानमन्त्रीले उठाएको सीमासम्बन्धी विषय दशगजा अतिक्रमणसँग सम्बन्धित रहेको परराष्ट्रमन्त्रीको स्पष्टोक्ति



काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले संसद्मा उठाएको सीमासम्बन्धी विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र सीमा पारबाट भएको कब्जासँग सम्बन्धित रहेको बताएका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्सांकनको काम बाँकी रहेको जानकारी दिए। उनका अनुसार नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार स्थापित र निर्देशित छ।

उनले ती क्षेत्रबाहेक अन्य केही स्थानमा दशगजा अतिक्रमण तथा सीमा पारबाट भएको कब्जासम्बन्धी समस्या विद्यमान रहेको बताए। मन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा उल्लेख गरेको सीमासम्बन्धी विषय पनि यिनै समस्यासँग सम्बन्धित रहेको स्पष्ट पारे।

परराष्ट्रमन्त्रीका अनुसार नेपाल र भारतबीचको सीमालाई व्यवस्थित र वैज्ञानिक ढंगले व्यवस्थापन गर्न नक्सांकन हुन बाँकी क्षेत्रमा सीमा स्तम्भ निर्माण तथा मर्मत, दशगजा अतिक्रमणको तथ्यांक संकलन र सीमा पारको अतिक्रमण अभिलेखीकरणको काम भइरहेको छ।

उनले सीमासम्बन्धी संयन्त्र तथा दुवै देशका प्राविधिक टोलीहरू सक्रिय रूपमा परिचालन भई संयुक्त लगत संकलन गरिरहेको जानकारी दिए। साथै, लामो समयदेखि अवरुद्ध रहेको नेपाल–भारत संयुक्त प्राविधिक समितिको काम पनि पुनः सक्रिय भएको बताए।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  २ : २६ बजे