काठमाडौं- सैनिक कर्मचारीसमेत रहेकी ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले बुधबार थापालाई अनुसन्धानका लागि म्याद थप गर्दै पाँच दिन थुनामा राख्न अनुमति दिएको हो। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार न्यायाधीश पिताम्बर शर्माको इजलासले उक्त आदेश जारी गरेको हो।
थापा गत जेठ २३ गते पक्राउ परेका थिए। उनीमाथि जेठ २२ गते राति काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारस्थित निवासमा श्रीमती ईश्वरी भुजेलमाथि रड प्रहार गरी हत्या गरेको आरोप छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ। अदालतबाट प्राप्त नयाँ म्याद अवधिमा थापामाथि लगाइएको हत्या आरोपसँग सम्बन्धित प्रमाण संकलन तथा अनुसन्धानका अन्य प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।








प्रतिक्रिया