Logo

कोशी

१४ बुँदे ‘कोशी घोषणा पत्र’ जारी गर्दै कोशी मिडिया समिट सम्पन्न



विराटनगर । सुनसरीको इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । प्रदेश खबर अनलाइनको आयोजनामा सम्पन्न समिटमा कोशी प्रदेशका पत्रकार, सञ्चार उद्यमी, मिडिया सञ्चालक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र नेपाल पत्रकार महासंघ सुनसरी को समन्वयमा सम्पन्न भएको हो ।

समिटमा पत्रकारिता, विज्ञापन बजार र सञ्चार उद्योगको वर्तमान अवस्था, चुनौती र समाधानका उपायहरूबारे गहन अन्तरक्रिया गरिएको थियो । सोही छलफलबाट प्राप्त निष्कर्षलाई समेट्दै १४ बुँदे ‘कोशी घोषणा पत्र’ जारी गरिएको आयोजक प्रदेश खबर अनलाइनका अध्यक्ष तथा प्रधानसम्पादक पवन अधिकारीले जानकारी दिए । उनका अनुसार मिडिया क्षेत्रसँग सम्बन्धित समग्र विषयमा व्यापक छलफल गरी बुँदागत रूपमा घोषणा पत्र तयार गरिएको हो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्य, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं र नेपाल पत्रकार महासंघ का केन्द्रीय महासचिव रामप्रसाद दाहालले सहभागीहरूको जिज्ञासामा जवाफ दिएका थिए । त्यस्तै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र गोरखापत्र संस्थान का अध्यक्ष अखण्ड भण्डारीले सम्बन्धित संस्थाका गतिविधि तथा पत्रकारितासँग जोडिएका विषयमा जानकारी गराउँदै छलफलमा सहभागिता जनाए ।

समिटमा पत्रकार आचारसंहिता, लोककल्याणकारी विज्ञापन, पारिश्रमिक, सामाजिक सुरक्षा कोष, नियुक्तिपत्र, वित्तीय सुदृढीकरणलगायत विषयमा व्यापक छलफल भएको थियो । पत्रकार शालिग्राम पाण्डे, सुविद गुरागाईं, बन्धु पोखरेल, सुमन पुरी, सञ्जीव वाग्ले, खेमचन्द्र अधिकारी, राजन केडी, विदुर खवास र मिनकुमार नवोदितलगायतले आफ्ना जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले कोशी केन्द्रित कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल पत्रकार महासंघ सुनसरी का अध्यक्ष सन्तोष काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।
प्रदेश खबर अनलाइन (नयन एडभरटाइजिङ मिडिया प्रालि) को आयोजनामा सम्पन्न समिटमा घोषणा पत्र तयार पार्न नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्काको संयोजकत्वमा हिमाल दाहाल र शिशिर भट्टराई सदस्य रहेको समिति गठन गरिएको थियो ।
यस्तो छ घोषणापत्रको बुँदाहरू :
१. नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको अवस्थामा संघीय सरकारसहित प्रदेश र स्थानीय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने उपयुक्त र अनुकुल वातावरण बनाउने गरी भूमिका निर्वाह गर्न यो मिडिया समिट माग गर्दछ ।
२. अनुकुलका समाचार प्रकाशन÷प्रशारण नगरेको निहुँमा विभिन्न मिडिया र पत्रकारमाथि भौतिक आक्रमण तथा धाकधम्कीका घटनाहरू भइरहेका छन् । यस्ता घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नेपाल सरकारसँग यो सम्मेलन जोडदार माग गर्दछ ।
३. सूचना विभागबाट पत्रकारहरुलाई प्रदान गर्दै आएको प्रेस पासलाई सहज ढंगले प्रदान गर्ने वातावरण मिलाउन र प्रेस पासको दुरुपयोग रोक्न सम्मेलन माग गर्दछ ।
४. सम्पादकीय स्वतन्त्रतालाई दृढतापूर्वक कार्यान्वयन गर्नको लागि वातावरण तयार गर्न सम्मेलन माग गर्दछ । साथै, समाचार कक्षको स्वतन्त्रताका लागि पनि उपयुक्त वातावरण मिलाउन सम्मेलनको निश्कर्ष रहेको छ ।
५. मर्यादित पत्रकारिताको विकासका लागि अझ प्रभावकारी भूमिका खेल्न प्रेस काउन्सिल नेपालसँग यो सम्मेलन माग गर्दछ ।
६. ‘मिस इन्फर्मेसन र डिस इन्फर्मेसन’को बाढी आइरहेको बेला पत्रकारहरुले थप विश्वसनीय र जवाफदेहि भएर काम गर्नुपर्नेमा सम्मेलनले निष्कर्ष निकाल्यो । सम्पूर्ण पत्रकारले आचारसंहिताको पूर्ण पालना गर्ने संकल्प गर्दै पत्रकार आचारसंहितालाई समय सापेक्ष परिमार्जन र परिस्कृत गर्न यो सम्मेलन माग गर्दछ ।
७. सूचना प्रविधिमा आएको विकाससँगै पत्रकारिताको अर्थ, मान्यता र प्रक्रिया पनि प्रभावित भएको कुरा अस्वीकार गर्न सकिदैन् । यस पृष्ठभूमिमा पत्रकारितासँग सम्बन्धित आचारसंहिता सम्बन्धमा नयाँ ढंगले छलफल गर्नुपर्ने सम्मेलनले निश्कर्ष निकाल्यो ।
८. सामाजिक सञ्जाल र मिडिया तथा ‘कन्टेन्ट क्रिएटर’ र पत्रकारबिचको भेदलाई बुझाउने गरि मिडिया साक्षरता र चेतनामूलक अभियान सञ्चालन गर्न सरकारी नियमनकारी निकाय तथा सरोकारावाला पक्ष सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकतामा सम्मेलन जोड दिन्छ ।
९. सरकारले वितरण गर्दै आएको विज्ञापन वितरणलाई समानुपातिक र समावेशी बनाउन माग गर्दछ । साथै संकटमा रहेका सञ्चार गृहलाई सरकारले अनुदान तथा ‘सफ्ट लोन’को व्यवस्था गर्न सम्मेलन माग गर्दछ ।
१०. विज्ञापन बोर्डमार्फत लोककल्यणकारी विज्ञापनमा लाग्दै आएको कर छुट गर्न सम्मेलन माग गर्दछ ।
११. सञ्चारगृहलगायत सरोकारवाला निकायहरुले श्रमजीवी पत्रकार ऐन तथा नियमावली लागू भए नभएको अनुगमन गरि त्यस्ता कानुनको सम्बन्धित निकायले सिघ्र लागू गर्नुपर्ने सम्मेलन माग गर्दछ ।
१२. सञ्चारगृहहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध भई श्रमजीवी पत्रकारहरूको सामाजिक सुरक्षाको सुनिश्चित गर्न यो सम्मेलन माग गर्दछ ।
१३. लोकतन्त्र, मानवअधिकार, विचार तथा अभिव्यक्तिका साथै प्रेस स्वतन्त्रताको रक्षार्थ पेशागत संगठनहरूलाई थप सशक्त बनाउने संकल्प यो सम्मेलनले लिएको छ ।
१४. कोशी प्रदेश सरकारको वार्षिक कार्यक्रम कोशी पर्यटन वर्ष २०८२ को अन्तिम चरणमा आइ पुगेकाले गर्दा यसलाई सफल बनाउन र समग्र कोशी प्रदेशको विकास र समृद्धिका लागि पत्रकारितामार्फत सहयोग गर्ने प्रतिबद्धता यो सम्मेलनले जनाएको छ । पूर्वकै केन्द्रमा पर्ने इटहरीको समग्र दिगो विकासमा पनि पत्रकारितामार्फत सहयोग गर्ने प्रतिबद्दता सम्मेलनले गर्दछ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ८ : ४१ बजे