विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशभर अन्तिम तयारी तीव्र पारिएको छ । निर्वाचन आयोग नेपाल अन्तर्गत कोशी प्रदेश निर्वाचन कार्यालयले आवश्यक सबै प्राविधिक, प्रशासनिक तथा सुरक्षा तयारी पूरा हुने चरणमा पुगेको जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालका अनुसार अधिकांश स्थानमा मतदान केन्द्र निर्माण सम्पन्न भइसकेको छ भने बाँकी स्थानमा पनि अन्तिम व्यवस्थापन कार्य भइरहेको छ । “दिनभरिमा सम्पूर्ण तयारी पूरा हुन्छ, भोलि बिहानदेखि नियमित समयमै मतदान प्रक्रिया सुरु हुन्छ,” उनले नेपाल न्यूज बैंकसंग भने ।
मतपेटिका, मतपत्र, कर्मचारी परिचालन र मतदान केन्द्रमा आवश्यक सामग्री ढुवानीको कार्य अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।
सुरक्षा घेरामा निर्वाचन, ८२१ संवेदनशील
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने उद्देश्यले सुरक्षा निकायले समेत विशेष रणनीति अपनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर रहेका १ हजार ९०७ मतदानस्थलमध्ये ४३९ मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ ।
प्रदेशस्तरीय सुरक्षा समितिले तयार पारेको वर्गीकरणअनुसार ८२१ मतदान स्थल ‘संवेदनशील’ र ६४७ मतदान स्थल ‘सामान्य’ सूचीमा राखिएका छन् । विगतका निर्वाचनमा भएका घटनाक्रम, मतदाताको सङ्ख्या, राजनीतिक गतिविधि, सीमा क्षेत्रको अवस्था, भौगोलिक विकटता तथा सम्भावित जोखिमको विश्लेषणका आधारमा वर्गीकरण गरिएको प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
सुरक्षालाई नै थप सुदृढ बनाउन नेपाल सेनाले पनि सक्रिय भूमिका खेलेको छ । पूर्वी पृतना हेड क्वाटर मातहत कोशी प्रदेशका सम्पूर्ण जिल्लामा १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको सेनाले जनाएको छ ।
सम्भावित विस्फोटक पदार्थ, शङ्कास्पद वस्तु तथा गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सेनाको भनाइ छ । मतदान अघिल्लो रातदेखि नै संयुक्त सुरक्षा गस्ती, चेकजाँच र निगरानी बढाइएको छ ।
३५ लाख बढी मतदाता, २४ अस्थायी मतदान केन्द्र
निर्वाचन कार्यालयको तथ्यांकअनुसार कोशी प्रदेशमा कुल ३५ लाख ७४ हजार ३१० मतदाता रहेका छन् । जसमा १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २१३ पुरुष र २४ जना अन्य मतदाता रहेका छन् ।
विशेष परिस्थितिका मतदातालाई लक्षित गर्दै प्रदेशका २४ स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । कारागार, वृद्धाश्रम तथा विशेष सुरक्षा व्यवस्थाभित्र रहेका मतदातालाई मतदानको अवसर सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो ।
आचारसंहिता उल्लङ्घनका घटना भने जारी
निर्वाचन नजिकिँदै गर्दा केही स्थानमा आचारसंहिता उल्लङ्घनका घटनाहरू आएको स्वीकार गर्दै प्रमुख दंगालले सम्बन्धित निकायमार्फत आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताए । मौन अवधिमा प्रचारप्रसार, सामाजिक सञ्जाल गतिविधि तथा समूहगत प्रदर्शनजस्ता गतिविधिमाथि निगरानी बढाइएको उनले स्पष्ट पारे ।
निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिँदै उनले सबै मतदातालाई निर्धक्क र उत्साहपूर्वक मतदान गर्न अपिल गरे ।










प्रतिक्रिया