जनकपुर । मधेश प्रदेशमा हराउने (सम्पर्कविहीन) व्यक्तिहरुको संख्यो डर लाग्दो रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
बुधबार (आज) जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत एक तथ्याङ्कले मधेश प्रदेशका जिल्लाहरुमा हराउने व्यक्तिहरुको संख्या बढि रहेको देखिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार अन्तिम ६ महिनामा मात्र मधेश प्रदेशमा दुई हजार ५७२ जना हराएका (सम्पर्कविहीन) छन् ।
जसमध्ये पुस महिनामा मात्र १४४८ जना हराएका हुन । ती हराएकाहरुमध्ये ६ महिनामा १५०१ जना फेला परेका छन् भने अन्य अझै सम्पर्कविहीन नै रहेका छन् ।
प्रवक्ता थापाले जेनजी आन्दोलनमा भएका क्षतिहरुको विवरणसमेत सार्वजनिक गरेका छन् । उनका अनुसार मधेश प्रदेशमा जेनजी आन्दोलनका क्रममा जम्मा ४ जनाको मृत्यु भएको थियो । सो आन्दोलनमा मधेश प्रदेशका जम्मा २३४ वटा सरकारी कार्यालयहरुमा क्षति भएको थियो ।
सरकारी कार्यालयहरुको कुल क्षति आंकलन ५७ करोड ३५ लाख ५२ हजार १२५ बराबरको रहेको छ । प्रवक्ता थापाका अनुसार जेनजी आन्दोलनका क्रममा प्रदेशभरिका प्रहरीको सवारी साधनहरुमा पनि क्षति पुगेको थियो । कुल आंकलन अनुसार २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको प्रहरीले प्रयोग गर्ने सवारी साधनमा क्षति भएको हो ।
प्रवक्ता थापाका अनुसार जेनजी आन्दोलनका क्रममा मधेश प्रदेशभरिका विभिन्न कारागारहरुमा रहेका १ हजार ४५ जना कैदीबन्दी फरार भएका थिए । उनीहरुमध्ये विभिन्न स्थानबाट जम्मा ५सय७९ जना पक्राउ परेका छन् भने अन्य कैदीबन्दी अझै फरार अवस्थामा रहेका छन् । जेनजी आन्दोलनकै क्रममा मधेश प्रदेशका बाल सुधार गृहरुबाट ६८ जना फरार भएका थिए । उनीहरुमध्ये २० जना पक्राउ परिसकेका छन् भने ४८ जना अझै फरार रहेको प्रवक्ता थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमा जम्मा २१६० वटा मतदान स्थल रहेका छन् । ती मतदान स्थलहरुमध्ये १५९ वटा सामान्य, ७५५ संवेदनशील र १२४६ वटा मतदान स्थल अतिसंवेदनशील रहेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयले मतदान स्थलहरुको अवस्था अनुसार सो स्थानहरुमा सुरक्षाकर्मीहरुको संख्या निर्धारण गरेको छ ।
१४ माघ २०८२, बुधबार
69
Shares









प्रतिक्रिया