विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट महिला/अल्पसंख्यक समूहमा रोशनी मेचे र दलित समूहमा सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न निर्वाचनमा कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवारहरूले सफलता हासिल गरेका हुन् ।
दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेलले ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । झापाको हल्दिबारी स्थायी बासिन्दा पोर्तेल लामो समयदेखि एमाले संगठन तथा दलित आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन् ।
उनी कांग्रेस–एमाले–जसपा गठबन्धनको समर्थनमा उम्मेदवार बनेका थिए । दलिततर्फ नेकपाबाट खेम सुन्दास उम्मेदवार थिए ।
उनले २०४७ सालमै अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए भने ४७ वर्षकै उमेरमा राष्ट्रियसभा सदस्य बनेका हुन् । यसअघि उनी २०७४ पछि जिल्ला समन्वय समिति झापाको प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । हाल एमाले प्रदेश कमिटी सदस्य रहेका पोर्तेल २०५१ सालदेखि उत्पीडित समुदायको आन्दोलनमा सक्रिय छन् । उनी मुक्ति समाज नेपालको उपमहासचिवसमेत हुन् ।
अल्पसंख्यक समूहअन्तर्गत निर्वाचित रोशनी मेचे पनि झापाकै प्रतिनिधि हुन् । झापाको धाइजन स्थायी बासिन्दा ४३ वर्षीया मेचेले ६४ जना प्रदेशसभा सदस्य र १९९ जना स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले कूल ७ हजार १७३ मतभार प्राप्त गरिन् ।
मेचे झापामा ऐतिहासिक बसोबास रहेको मेचे समुदायकी प्रतिनिधि हुन् । यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय सदस्यका रूपमा सिंहदरबारमा कार्यरत थिइन् । पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी मेचे हाल गोरखापत्र संस्थानमा कार्यरत छिन् । उनी मेचे भाषाका समाचार संयोजन गर्दै आएकी छन् ।
यसअघि कोशी प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनकै तर्फबाट सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।











प्रतिक्रिया