Logo

Breaking News 1

निर्धारित समयमै निर्वाचन हुनेमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल



काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताएका हुन् ।

निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।

निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’

पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्वोधन गरे ।

सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ६ : ५३ बजे