Logo

Breaking News 1

कृषि र पर्यटन जोड्ने ‘सुन्तला–हाइकिङ’ पुनः सुरु



काठमाडौं । काभ्रेपलाञ्चोकमा कृषि उत्पादनलाई पर्यटनसँग जोड्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको छ ।

सुन्तलाखेतीको प्रचुर सम्भावना रहेको काभ्रेपलाञ्चोकमा एग्रोटुरिजम प्रवद्र्धन गर्ने प्रयासस्वरूप कार्यक्रम पुनः सञ्चालन गरिएको हो ।

होटल एसोसिएसन अफ नेपाल ९हान० काभ्रेपलाञ्चोक च्याप्टरको आयोजनामा तथा धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको हो । यसमा नेपाल युवा उद्यमी मञ्च, काभ्रेपलाञ्चोक र रोटरी क्लब अफ धुलिखेलको सहकार्य रहनेछ ।

कार्यक्रममार्फत स्थानीय किसान, होटल व्यवसायी र पर्यटन सेवाप्रदायकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । सुन्तला सिजनमा पदयात्रा आयोजना गर्दा कृषि उत्पादनको बजारीकरणसँगै ग्रामीण पर्यटन प्रवद्र्धन हुने आयोजकको विश्वास छ ।

यसअघि करिब १५ वर्षअघि नमोबुद्ध–बल्थली क्षेत्रमा यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन गरिएको भए पनि निरन्तरता पाउन सकेको थिएन । हान काभ्रेपलाञ्चोक च्याप्टरका अध्यक्ष प्रह्लाद प्याकुरेलले कृषि र पर्यटनलाई जोडेर जिल्लालाई फरक पहिचान दिने उद्देश्यसहित कार्यक्रम पुनः सञ्चालनमा ल्याउन लागिएको बताए ।

उनका अनुसार जिल्लामा सुन्तलाखेतीको राम्रो सम्भावना रहेकाले यही सिजनलाई लक्षित गर्दै नयाँ स्वरूपमा कार्यक्रम सञ्चालन गरिनेछ । क्रिसमसको अवसर पारेर बिहीबारदेखि कार्यक्रम औपचारिक रूपमा सुरु गरिने जानकारी उनले दिए ।

कार्यक्रमअन्तर्गत नमोबुद्धदेखि बल्थलीसम्म पदयात्रा ‘रुट’ तय गरिएको छ । पदयात्रीहरूले सुन्तलाले भरिएका बगैँचाबीच यात्रा गर्दै प्राकृतिक दृश्यावलोकन गर्नेछन् । साथै स्थानीय किसानका बगैँचाबाटै ताजा सुन्तला चाख्ने अवसरसमेत पाउनेछन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १ : २८ बजे