Logo

मुख्य समाचार

युवाको मन नछुने व्यवस्थाबाट राष्ट्र खाडलमा पर्यो : मधु कार्की



काठमाडौं । पत्रकार तथा राजनीतिज्ञ मधु कार्कीले मुलुकको वर्तमान राजनीतिक अवस्था गम्भीर संकटतर्फ उन्मुख भएको बताउँदै युवापुस्तामा बढ्दो निराशा र असन्तुष्टिले राष्ट्रको भविष्य जोखिममा परेको चिन्ता व्यक्त गरेकी छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्कीले देशमा आवश्यक रहेको सुशासन, पारदर्शिता र उत्तरदायित्वको अभावले युवाहरू हरेक दिन निराश, दिग्भ्रमित र अवसरविहीन बन्दै गइरहेको बताइन् ।

उनले भनिन्, ‘हामीले चाहेको अवस्था, चाहेको व्यवस्था हुन सकेको छैन । यो व्यवस्थाले युवाहरूको मन, चेतना र सपनालाई छोएन । टेक्नोलोजीले विश्व समातिरहेको २१औँ शताब्दीमा हाम्रा युवाहरूलाई आफूसँग केही छैन भन्ने लज्जा महसुस गराउँदै गरिएको छ ।’

उनले वर्तमान राजनीतिक नेतृत्व र राज्य संयन्त्रको असमता, अनियमितता र दिशाहीनताका कारण युवा पुस्तामा अविश्वास, निराशा र विद्रोहको सोच व्यापक रूपमा फैलिरहेको बताइन् । ‘समाजमा फैलिएको सामूहिक निराशा र मास डिप्रेसनले राजनीतिक चेतनामा कालो पट्टी बाँधेको छ,’ उनले भनिन् ।

कार्कीले देशमा देखिएको अव्यवस्था, फोहोर राजनीतिक संस्कृतिहरू, असंवैधानिक अभ्यास र विभाजनकारी प्रवृत्तिले राष्ट्रिय प्रगतिलाई अवरुद्ध गरिरहेको दाबी गरिन् ।

उनले ‘क्लीन हाउस’ अभियानमार्फत फोहोर राजनीतिक व्यवहारलाई सफा गर्दै राष्ट्रलाई स्थिरता, पारदर्शिता र सकारात्मक परिवर्तनतर्फ अघि बढाउन आवश्यक रहेको बताइन् । युवालाई रोजगार, सीप र श्रमसँग प्रभावकारी रूपमा जोड्ने, उनीहरूको क्षमता सही दिशामा प्रवाह गर्ने र दीगो राष्ट्रिय विकासको आधार निर्माण गर्न सक्षम राष्ट्रनीति आजको आवश्यकता भएको उनको निष्कर्ष थियो ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १० : १३ बजे