Logo

Breaking News 1

एनपिएल : पोखराद्वारा जनकपुरसामु १५६ रनको लक्ष्य



काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज भइरहेको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससामु जितका लागि १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनायो । पोखराका लागि सुमित बर्माले अर्धशतकीय पारी खेले ।

उनले २९ बल खेल्ने क्रममा चार छक्का र दुई चौकाको मद्दतमा अविजित ५० रन बनाए । यस्तै दिनेश खरेलले ३८, तृतराज दासले २९ तथा एडम रोसिङ्ग्टनले २४ रन बनाए ।

बलिङतर्फ जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले तीन तथा कप्तान अनिल साह र ललितनारायण राजवंशीले एक–एक विकेट लिए । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा र अनिल साहको नेतृत्वमा रहेको जनकपुर जारी प्रतियोगितामा जितबिहीन अवस्थामा छन् ।

दुवै टोलीले हालसम्म दुई दुई खेल खेलेका छन् । अहिले जनकपुरले पोखराविरुद्ध ब्याटिङ गरिरहेको छ । यसअघि आजै सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले परारिजत गरेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ६ : १५ बजे