Logo

मुख्य समाचार

मानवरहित विमान संघ उडान टोलीद्वारा मन्त्री गुप्तासँग भेटवार्ता, ड्रोन खेलको औपचारिक नियमन आवश्यकतामा जोड



काठमाडौं । मानवरहित विमान संघ नेपाल (उडान) को प्रतिनिधिमण्डलले बुधवार युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री बाब्लु गुप्तासँग भेटवार्ता गर्दै नेपालमा भइरहेको अनियमित ड्रोन तथा अन्य पाइलटविहीन खेल–गतिविधिबारे विस्तृत छलफल गरेको छ ।

भेटवार्ताका क्रममा उडान टोलीले देशका विभिन्न स्थानहरूमा ड्रोन रेसिङ तथा पानी र हावामा संचालन गरिने पाइलटविहीन उपकरणहरू बिना कुनै स्पष्ट मापदण्ड सञ्चालन हुँदै आएको उल्लेख गर्दै, यस्तो अवस्था सुरक्षादेखि खेलको मर्यादा तथा अनुशासनसम्म नकारात्मक प्रभाव पारिरहेकोप्रति मन्त्रीज्यूको ध्यानाकर्षण गराएको हो ।

संघका प्रतिनिधिहरूले यस्ता गतिविधिको नियमन, अनुमति प्रक्रिया, निरीक्षण तथा संचालन–अनुगमन कार्य केवल सरकारी निकायमा सीमित नराखी, प्राविधिक दक्षता भएका गैर–सरकारी संस्थालाई जिम्मेवारीसाथ प्रदान गर्नुपर्ने आवश्यकता औंल्याए ।
उडान टोलीले उदाहरण प्रस्तुत गर्दै भन्यो, “जसरी क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले क्रिकेट खेलको सम्पूर्ण संरचना र व्यवस्थापन सम्हाल्छ, त्यसैगरी मानवरहित विमान–सम्बन्धी खेल तथा गतिविधिको औपचारिक संरचना उडान जस्ता विशेषज्ञ संस्थाले वहन गर्न सक्नेछ ।”

भेटवार्तामा महासचिव प्रविन भट्टराईले प्रविधिमूलक खेलहरूलाई मन्त्रालयले आफ्नो संरचनाभित्र समावेश गर्नुपर्ने र राज्यको औपचारिक सहयोगले मात्र नेपालमा टेक्नोलोजिकल स्पोट्र्सलाई विश्वस्तरीय स्तरमा उकास्न सकिने धारणा व्यक्त गरे ।
उनले हालै स्पेनमा सम्पन्न ड्रोन ट्याक्सी प्रतियोगिताको उदाहरण प्रस्तुत गर्दै नेपाल प्रविधि–नवप्रवर्तनमा पछि नपरोस् भन्नेतर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा यस्ता प्रतियोगिताको आयोजना गर्न अत्यावश्यक रहेको विचार व्यक्त गरे ।

त्यसैगरी, सदस्य इन्जि. मोतीराम इटानीले नेपालका युवामा ठूलो सम्भावना रहेको उल्लेख गर्दै भने, “यदि उचित नीति र पूर्वाधार उपलब्ध भयो भने नेपालले विश्वका टेक्नोलोजिकल खेल तथा प्रतियोगितामा आफ्नो क्षमता मजबुत रूपमा प्रस्तुत गर्न सक्छ ।”
संघका उपाध्यक्ष प्रधुन्न मिश्र र इन्जि. सश्वत रिजालले पनि सरकार युवाको मागप्रति सकारात्मक हुने विश्वास व्यक्त गर्दै, सरकारले यस्ता खेल र प्रविधिलाई प्राथमिकताका साथ हेरिदिने आशा प्रकट गरे । भेटवार्ता सकारात्मक वातावरणमा सम्पन्न भएको र निकट भविष्यमै आवश्यक नीतिगत पहल तथा समन्वय अघि बढ्ने अपेक्षा व्यक्त गरिएको ग्म्ब्ब्ल् ले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ८ : ५८ बजे