Logo

Breaking News 1

हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका



मकवानपुर । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ ।

आज सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्र रेखादेखि २५–२५ गज (७५–७५ फिट) भित्र बनेका स्थायी तथा अस्थायी घर–टहरा, पर्खाल तथा अन्य संरचना हटाउन निर्देशन दिएको हो ।

सरकारले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको चौडाइ मापदण्डअनुसार कायम गर्ने नीति अनुसार संरचना हटाउन लागिएको डिभिजन कार्यालयले स्पष्ट गरेको छ। विज्ञप्तिमा तोकिएको समयभित्र स्वेच्छाले संरचना नहटाए कानुनअनुसार कारबाही र बल प्रयोग गरी हटाइने चेतावनीसमेत दिइएको छ ।

हेटौंडा बजार क्षेत्रमा २५–२५ गज चौडाइ कायम गर्ने योजना करिब पाँच दशकअघिदेखि पटक–पटक अघि सारिए पनि यथार्थमा सडक विस्तार भने कहिल्यै अघि बढ्न सकेको छैन । पूर्वाधार विस्तारका नाममा सूचना जारी हुने तर व्यवहारमा काम नहुने परम्परा दोहोरिन सक्ने भन्दै स्थानीयवासी र व्यापारीहरू कार्यान्वयनबारे शंका व्यक्त गरिरहेका छन् ।

यातायात चाप बढ्दै गएको, सडक साँघुरो हुँदा दुर्घटना जोखिम बढेको र बजार क्षेत्रमा दैनिक जाम समस्या बनेको अवस्थालाई समाधान गर्न सडक विस्तार अपरिहार्य रहेको सरोकारवालाको तर्क छ । तर भूतपूर्व झैँ मुआब्जा, राजनीतिक दबाब र स्थानीय प्रतिरोधका कारण यो सूचना पनि कागजमै सीमित हुने हो कि भन्ने चासो भने यथावत् छ ।

१५ दिनभित्र हटाउने भनिए पनि, वास्तविक रूपमा हेटौंडाको सडक विस्तार कहिले हुने हो भन्ने प्रश्नमा भने अझै स्पष्टता देखिएको छैन ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १० : ५२ बजे