Logo

मुख्य समाचार

एभिन्यूजका पत्रकार सहनीले एक बर्षदेखि तलव नपाएकोमा आपत्ति



हेटौँडा । एभिन्यूज टेलिभिजनले आफ्ना मकवानपुर जिल्ला संवाददाता प्रमोद राज साहनीलाई करिब एक वर्षदेखि पारिश्रमिक भुक्तानी नगरेको भन्दै स्वतन्त्र पत्रकार संघ मकवानपुरले आपत्ति जनाएको छ ।

संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त टेलिभिजनलाई एक महिनाभित्र सम्पूर्ण बक्यौता पारिश्रमिक भुक्तानी गर्न अल्टिमेटम दिएको छ ।

संघका सचिव बसन्त भण्डारीले जारी गरेको विज्ञप्ति अनुसार, पत्रकार साहनीले बारम्बार मानव संसाधन विभाग र कार्यकारी प्रमुखलाई पारिश्रमिक भुक्तानीको लागि अनुरोध गर्दा संस्थाले ‘प्रक्रियामा छ’ र ‘केही दिनमा हुन्छ’ जस्ता अस्पष्ट आश्वासन मात्र दिँदै आएको छ ।

विशेषगरी कानुनी हक माग गरेको कारण पत्रकार साहनीलाई संस्थाको आधिकारिक सञ्चार समूहबाट हटाइएको संघले उल्लेख गरेको छ । संघले यसलाई श्रम कानुनको स्पष्ट उल्लंघन र पत्रकारीय स्वतन्त्रतामाथिको आक्रमण भनी चिन्ह् लगाएको छ । संघले एभिन्यूज टेलिभिजनले नेपालको संविधानको धारा ३४, श्रम ऐन २०७४ को दफा १०५ र श्रमजीवी पत्रकार ऐनमा व्यवस्था भएका प्रावधानहरूको उल्लंघन गरेको आरोप लगाएको छ ।

यी कानुनी प्रावधानहरूले पत्रकारहरूको श्रम अधिकार, न्यूनतम पारिश्रमिक र सेवा सुरक्षाको प्रत्याभूति गरेका छन् । संघले यदि तोकिएको अवधिभित्र पारिश्रमिक भुक्तानी नभएमा श्रम तथा रोजगार कार्यालय, मानव अधिकार आयोग र सम्बन्धित अदालतमा उजुरी दर्ता गर्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा नेपाल पत्रकार महासंघ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम तथा रोजगार कार्यालय र मानव अधिकार आयोगलाई यस घटनाको तत्काल छानबिन गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउन औपचारिक अनुरोध गरिएको छ ।

संघले सबै सञ्चार गृहहरूलाई श्रम ऐन र श्रमजीवी पत्रकार ऐनको कडाइका साथ पालना गर्न र पत्रकारहरूको श्रम अधिकार, पेशागत सम्मान र आत्मसम्मानको संरक्षण गर्न कानुनी दायित्वको स्मरण गराएको छ ।

संघले पत्रकारको श्रम अधिकार उल्लंघन गर्ने संस्थाविरुद्ध सार्वजनिक अभियान, कानुनी कारबाही र संगठित आन्दोलन सञ्चालन गर्ने चेतावनी दिँदै त्यस्ता संस्थाहरूलाई ब्ल्याकलिस्ट गर्ने र पत्रकारहरूलाई त्यहाँ काम नगर्न आह्वान गर्ने बताएको छ ।

‘पत्रकारिता लोकतन्त्रको स्तम्भ हो र पत्रकारको श्रम अधिकारको संरक्षण नै पत्रकार स्वतन्त्रताको संरक्षण हो,’ विज्ञप्तिमा भनिएको छ ।

यस सम्बन्धमा एभिन्यूज टेलिभिजनको प्रतिक्रिया प्राप्त हुन सकेको छैन् । यता, पत्रकार महासंघ केन्द्रीय समितिले एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकारहरुको आंशिक पारिश्रमिक भुक्तानी गराउन पहल गरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  २ : १४ बजे