Logo

Breaking News 1

जेनजी आन्दोलनका सकारात्मक माग र भावनालाई सम्मान गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भाद्र २३ गतेको जेनजी आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै काम गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूसहितको बैठकमा मुख्यमन्त्री कँडेलले जेनजी पुस्ताले उठाएका सकारात्मक माग र भावना अनुरुप सरकारका कामहरु अगाडि बढाउन निर्देशन दिए ।

सरकारका प्रतिनिधिहरुले गरेका सुधारका कामलाई व्यवहारमा रूपान्तरण गर्न उनले आग्रह गरे । अहिले जनताले सेवामा पारदर्शिता, जवाफदेहिता र सहजता अपेक्षा गरेको भन्दै मुख्यमन्त्री कँडेलले सरकारले दिने प्रत्येक सेवामा जनतालाई प्रत्यक्ष सुधारको अनुभूति दिलाउनुपर्नेमा जोड दिए ।

‘कार्यालयका ढोका जनताका लागि खुला हुनुपर्छ, कागजपत्रमा मात्र होइन, व्यवहारमा पनि पारदर्शिता देखिनुपर्छ,’उनले भने । उनले विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ सोच र कार्यशैली अपनाएर काममा गति दिनुपर्ने उल्लेख गरे । ‘हामीले हिजोका कमजोरी सुधारका उपाय खोज्नुपर्छ,’ मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

उनले सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाहमा केन्द्रित हुने स्पष्ट पारे ।
मुख्यमन्त्री कँडेलले भने,‘वर्तमान सङ्घ सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको खर्च कटौती गर्न, तालिम, भ्रमण, गोष्ठी र आवश्यक नभएका योजनाबाट खर्च कटाउने प्रस्ताव, फजुल खर्च रोक्ने नीति र योजना ल्याउन सचिवहरूले पहल गर्नुपर्छ ।’

उनले प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न निर्देशन दिए । उनले सेवाप्रवाहमा सरलता ल्याउन, ढिलाइ संस्कृतिलाई अन्त्य गर्न र जनतामुखी प्रशासनिक सुधारमा जोड दिए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १२ : ३१ बजे