विराटनगर । लगातारको वर्षाले मेची राजमार्ग र कोरिडोर पूर्ण रूपमा ठप्प भएका छन् । पाँचथर खण्डमा मात्रै दुई दर्जनभन्दा बढी ठाउँमा ठूला–ठूला पहिरो खसेका छन् । फाल्गुनन्द–३ रमाइलोचोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्क क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
इलाम खण्डमा माइखोला, राजदुवाली र बिव्ल्याटे क्षेत्रमा पनि दर्जनौँ ठाउँमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको छ । माइखोलामा आएको बाढीले बेलिब्रिज क्षति पु¥याएको छ भने मेची कोरिडोर अन्तर्गतका माई खोला, पुवा खोला र जोगमाईका तीनवटा पक्की पुल बाढीले बगाएको इलाम प्रहरीले जनाएको छ। यी पुल बगाएपछि यस क्षेत्रमा सम्पूर्ण आवतजावत ठप्प भएको छ ।
इलामकै माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य भीषण पहिरोमा परेर बेपत्ता भएका छन् । त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर हराएका छन् । स्थानीयका अनुसार उनीहरू घरभित्रै रहेका बेला पहिरोले बगाएको हो । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया