काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको महान चाड बडादशैं २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले दशैंलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइने पर्व भएको उल्लेख गर्दै यसले पारिवारिक जमघट, सामाजिक मेलमिलाप, सद्भाव र भाइचारालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘दशैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ,’ सन्देशमा भनिएको छ ।
राष्ट्रपतिले दशैं पर्वले मुलुकमा विद्यमान भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्दै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन्। साथै, दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त रूपमा अभिव्यक्त हुने परम्पराले पनि यस पर्वको महत्त्व अझ बढाएको उनको भनाइ छ ।
राजनीतिक स्थायित्वको सन्दर्भमा राष्ट्रपति पौडेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबै पक्षलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गरेका छन् । साथै, मुलुकमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति र सरकारी, संस्थागत तथा निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिको उपयुक्त व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
राष्ट्रपतिले वर्तमान राजनीतिक परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त होस् भन्ने कामना गर्दै समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गरेका छन् । उनले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दै सबै नेपालीमा आपसी एकता, न्याय र समानतासहितको आर्थिक समृद्धिमा अग्रसर हुन आग्रह गरेका छन् ।
प्रतिक्रिया