रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर शाहीले बाँझो बसेको बारीलाई पैसा फल्ने ठाउँ बनाएका छन् । धेरै वर्ष बाँझै रहेको बारीका पाटामा अहिले ड्रागन फ्रुटले पेसा फलाएको छ ।
अत्यधिक सुख्खा जमिनका कारण लामो समयसम्म बाँझै रहेको बारी अहिले सबैको मन लोभ्याउने ठाउँ बनेको छ । २०५३ सालदेखि काठमाडौँमा नर्सरी व्यवसाय गर्दै आएका साईले १० वर्ष अघि गाउँ फर्केर कृषि उद्यम सुरु गरेका थिए । शाहीको काठमाडौंको नर्सरी अहिले पनि छ । तर गाउँमा आएर नयाँ प्रयोग गर्दा राम्रो आम्दानी भएपछि साही गाउँमा नै रमाएका छन् ।
शाहीले ३ वर्षअघि भदौरे कालिका कृषि फर्म दर्ता गरेर बाँझो जमिनमा ड्रागन लगाएका हुन् । अहिले उनका बारीमा ८ सयभन्दा बढी ड्रागन फ्रुटका बोट छन् । शाहीको पहिलो लटमा नै एक लाख रुपैयाँभन्दा बढी फल बिक्री भयो । यो वर्ष ६ लाख रुपैँयाको फल बिक्री हुने उनको अनुमान छ ।
प्रति किलो ३ सय ३० रुपैयाँमा बँगैचाबाट बिक्री हुने ड्रागन फ्रुटको बजारको कुनै चिन्ता नभएको उनले बताए । ’व्यापारीहरू यहीँ किन्न आउँछन्, अहिलेसम्म बजारको कुनै समस्या छैन’, शाहीले भने ।
ड्रागन फ्रुटसँगै शाहीले दुईवटा हाई टेक टनेल (प्लास्टिक घर) स्थापना गरेर बिरुवा उत्पादन सुरु गरिरहेका छन् । त्यस्तै सयपत्री लगायतका फूलबाट पनि उनले राम्रो आम्दानी गर्ने गरेका छन् ।
रामेछाप जिल्लामा अमिलो जातका फलफूल– जुनार, सुन्तला र कागती राम्रो हुने भएकाले त्यही प्रजातिका बिरुवा उत्पादनलाई उनले प्राथमिकता दिएका छन् ।
यसबाहेक सयपत्री, मखमलीलगायतका फूल पनि उनले सिजन अनुसार बजारमा पठाउँछन् । शाहीले व्यवसायीक कृषि सुरु गरेपछि अन्य किसानले पनि व्यवसायीक रूपमा फलफूल खेती सुरु गरेका छन् । शाही किसानको लागि प्रेरणाको स्रोत बनेका छन् ।
प्रतिक्रिया