Logo

Breaking News 1

बबरमहलस्थित दुर्गाबिनायक मन्दिरमा घटस्थापनाको अवसरमा जमरा राखिँदै



काठमाडौं । दशैँको पहिलोदिन आज घटस्थापनाको अवसरमा काठमाडौंको बबरमहल स्थित दुर्गाबिनायक मन्दिरमा विशेष पूजापाठ गरी जमरा राखिँदै छ । यस मन्दिरका पुजारी कमल सापकोटाका अनुसार आज बिहान ९ बजेर १३ मिनेटमा जमरा राख्ने शुभ साइत रहेको छ । धार्मिक परम्परा अनुसार दुर्गा भगवतीलाई चढाउनका लागि जमरा राखिन्छ, जसलाई दशैँको आठ दिनको विशेष अवधीभर पूजा गरिन्छ । जमरा राख्नका लागि जौ, तिल, कुस, पातलगायत सामग्री प्रयोग गरिन्छ ।

विगत पाँच वर्षदेखि सो मन्दिरमा निरन्तर पुजारी सेवा गर्दै आएका सापकोटाले दशैँ नजिकिँदै गर्दा गाउँघरमा छुट्टै रमाइलो वातावरण हुने र टाढा टाढाबाट मानिसहरू आफ्ना घर फर्कने परम्परा रहेको बताए । उनका अनुसार दशैँमा आफूभन्दा ठूला व्यक्तिबाट टिका लगाउने प्रचलन रहँदै आएको छ, जसले स्नेह, आशीर्वाद र पारिवारिक एकतालाई बलियो बनाउँछ ।

यद्यपी, हालै मात्र नेपालमा भएको परिवर्तनकारी जेनजी आन्दोलनले निम्त्याएका हत्या, हिंसा, आगजनी र लुटपाटका दुखद् घट्नाले यसपटकको दशैँमा धेरैको घरमा रोधन समेत रहेको उनले बताए । भावुक हुँदै उनले भने,“कतिका छोराछोरी र कतिका आमाबाबुले ज्यान गुमाएका छन् । यसले गर्दा यो पर्व सबैका लागि रमाइलो मात्र नभई पीडादायी पनि भएको छ ।”

दशैँमा दुर्गा भगवतीको प्रसन्नताका लागि परम्पराअनुसार बोका बलि दिने चलन समेत रहँदै आएको पुजारी सापकोटाले बताए । यसरी बबरमहलस्थित दुर्गाबिनायक मन्दिरमा आज घटस्थापनाको अवसरमा पुजारीद्वारा शुभ साइतमा जमरा राखिँदैछ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : ४९ बजे