हेटौंडा । भदौ २३ र २४ गते नेपालभरि भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा शनिबार हेटौंडामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
मेन्स रुम रिलोडेड (एमआरआर)को पहलमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरे ।
हेटौंडा–१० स्थित बुद्धचोकमा आयोजित कार्यक्रममा उपस्थित युवाहरूले कालो व्यानर बोकेर मृतकहरूको तस्बिरसहित दिप प्रज्वलन गरे ।
उनीहरूले हिंसा र द्वन्द्वको अन्त्य गर्दै सहमति र संवादमार्फत समस्या समाधानको आवश्यकता औँल्याए । कार्यक्रममा बोल्ने वक्ताहरूले जनताका मागलाई सुन्ने, युवाहरूको आवाजलाई सम्मान गर्ने र दमन होइन समाधानको बाटो रोज्न सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया