काठमाडौं । धितोपत्र बोर्ड नेपाल (सेबन)ले सेयर निष्काशनमा ढिलाइँ गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले करिब १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले बिहीबार सेबनलाई पठाएको पत्रमा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
इप्पानका अनुसार २०८० जेठपछि आईपीओ र राइट सेयर निष्काशनमा ढिलाइँ हुँदा ९७५ मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका ५० कम्पनी प्रभावित भएका छन् । यसमध्ये ४३ कम्पनी आईपीओ र ७ कम्पनी राइट सेयरका लागि तयारीमा थिए ।
पत्रमा उल्लेख भएअनुसार समयमै सेयर जारी हुन नसक्दा २३ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर निष्काशन रोकिएको, १२ अर्ब ४० करोड रुपैयाँ ब्याज बढेको, २४ अर्ब ३० करोड रुपैयाँ लागत बढेको र ७१ अर्ब ७८ करोड रुपैयाँ बराबरको राजस्व गुमेको छ ।
सेबनमा अध्यक्ष नियुक्ति नभएको र नेटवर्थ ९० प्रतिशतभन्दा बढी हुनुपर्ने जस्ता कारण देखाउँदै सेयर निष्काशन रोकिँदै आएको इप्पानको आरोप छ । हालसम्म १० कम्पनीलाई मात्र आईपीओ र ११ कम्पनीलाई राइट सेयरको अनुमति दिइएको छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले सेबनलाई पठाएको पत्रमा रोकिएका आईपीओ तुरुन्त जारी गर्न, उत्पादनपछिको आईपीओ निष्काशन र छुट्टाछुट्टै आइजीन प्रणाली कार्यान्वयन नगर्न माग गरिएको छ । समस्या समाधान नभए आन्दोलनमा जानुपर्ने चेतावनी पत्रमा दिइएको छ ।
इप्पानले पत्रमार्फत निर्माणाधीन अवस्थामा नै आईपीओ जारी गर्न सक्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । हालको नीति स्पष्ट कानुनी आधारबिना आईपीओ रोकिएको र यो गैरकानुनी रहेको उल्लेख गर्दै इप्पानले धितोपत्र बोर्ड र सरकारसँग तत्काल निर्णय लिन आग्रह गरेको हो ।
यसैगरी, सिडीएससीले प्रवद्र्धक र सर्वसाधारणलाई छुट्टाछुट्टै आइजीन दिने निर्णय कार्यान्वयन नगर्न माग गरिएको छ । यो कारणले सार्वजनिक निष्काशन गरिसकेका जलविद्युत कम्पनीहरूको सेयर नेप्सेमा ६ महिनादेखि सूचीकृत हुन नसक्दा गैर आवासीय नेपाली र अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक प्रभाव परेको इप्पानको दाबी छ ।
पत्रमा २०८० भदौमा सेबन र इप्पानबीच भएको १२ बुँदे समझदारीलाई स्मरण गराउँदै इप्पानले ऊर्जा क्षेत्रलाई थप व्यवस्थित र उत्तरदायी बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
प्रतिक्रिया