काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रयोग गर्न थालिएको छ । काठमाडौंको पुतलीसडकमा रहेको भाषिका कन्सल्टेन्सीले नेपालमा पहिलो पटक शैक्षिक परामर्श व्यवसायमा एआईका टुल्सहरु प्रयोग गरेर विद्यार्थीहरुलाई सेवा दिन सुरु गरेको हो ।
विद्यार्थीलाई घरमै बसेर सम्पूर्ण शैक्षिक जानकारी उपलब्ध गराउने उद्देश्यसहित विकसित भाषिका सफ्टवेयरमा एआई काउन्सिलिङ सिस्टमको विकास गरिएकाले यो नेपालका लागि नौलो र पहिलो भएको कन्सल्टेन्सीका संचालक इश्वरी निरौलाको दाबी छ ।
‘सुरुमा हामीले डिजिटलमार्फत भाषा पढाउने सोच बनाएका हौं । विस्तारै आइएलटिएस तयारी कक्षा साथै विदेशका विश्वविद्यालयबारे इन्फरमेशन दिनका लागि एआइको प्रयोग गर्न सुरु गरेका हौं । विशेषगरी ग्रामीण क्षेत्रमा रहेका युवाहरुलाई लक्षित गरेर मोबाइलकै सहायतामा सेवा दिइरहेका छौं । हामीले नेपालमै सफ्टवेयरको विकास गरेर यस्तो सेवा सुरु गर्दा धेरैले आश्चर्य मानेका छन्,’ निरौलाले भने ।
त्यस्तै भाषिकाकै अर्का संचालक उत्सव तिम्सिनाले नेपालमा शैक्षिक परामर्श क्षेत्रमा पहिलो पटक एआइको प्रयोग सुरु गरेको जानकारी दिए । ‘कन्सल्टेन्सीकै कार्यालयमा पुगेर भन्दापनि घरमै बसीबसी विद्यार्थीहरुलाई काउन्सिलिङ गर्ने हाम्रो लक्ष्य हो । लीफ एजुकेशनको सहकार्यमा एआइको टुल्स पहिलोपटक नेपालमा अभ्यास गरेका हौं । विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई तथ्यगत जानकारी दिनका लागि र सही निर्णय गर्नसक्ने वातावरण बनाउन एआई टुल्स बढी उपयोगी छ ।
यसबाट सेवा लिनका लागि शुल्क लाग्दैन् । जसका कारण विद्यार्थीको समय र पैसा बचत हुनेछ,’ उनले भने ।
एआई काउन्सिलिङ सिस्टमको सहायतामा आइएलटिएस मक टेस्ट, अध्ययनका लागि इच्छा गरिएको विषयको छनोट, छात्राबृत्ति र शुल्कमा पारदर्शिता, विश्वविद्यालय खोजी, डिजिटल कागजातको व्यवस्थापनमा सहज हुने तिम्सिनाको भनाइ छ ।
भाषिकाको एआइ टुल्समार्फत विदेश अध्ययन गर्न जाने प्रक्रिया सहज हुने, विद्यार्थीको अध्ययन, बजेट र लक्ष्य अनुसार सही कोर्स र विश्वविद्यालय सिफारिसमा सहज हुने, स्मार्ट विश्वविद्यालय खोजी गर्ने क्रममा सही देश, शहर र कोर्स सुझाव दिनसक्ने, छात्रवृत्ति खोजी र खर्च स्पष्ट पार्ने, सबै कागजात र आवेदन प्रक्रियामा सजिलो व्यवस्थापन हुने साथै भर्चुअल सहयोगका माध्यमबाट अर्थात च्याटबटको सहायतामा तुरुन्तै प्रश्नको जवाफ दिइने संचालकहरुको भनाइ छ ।
नेपालमा हाल संचालित शैक्षिक परामर्श केन्द्रहरु परम्परागत रुपमै चलिरहेका बेला भाषिकाले डिजिटल काउन्सिलर बनाउने लक्ष्यसहित जसले विद्यार्थीको निर्णयलाई सजिलो, सुरक्षित र प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिएको छ ।
कम्पनीले भदौको दोस्रोत साता काठमाडौंको होटल एभरेष्टमा सम्पन्न शैक्षिक कार्यक्रममा लीफ एजुकेशनले नवीनतम डिजिटल परामर्श प्रणाली भाषिकाको औपचारिक प्रदर्शन गरेको थियो । कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक र परामर्शदाताहरूले भाषिकालाई ‘डिजिटल कन्सल्टेन्सी’ र ‘कन्सल्टेन्सी एट युवर फोन’को नयाँ अवधारणा भनेर स्वागत गरेको संचालकहरुको भनाइ छ ।
प्रतिक्रिया