काठमाडौं । अर्थविद्हरुले मुलुकलाई अहिलेको चूनौतिबाट पार लगाउनको लागि नयाँ सरकारले गम्भीर कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।
नयाँ सरकारलाई खर्च कटौती, पारदर्शीता र सानो टिम बनाएर काम गर्न उनीहरुको सुझाव छ । आज (शनिबार) काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले देशमै रोजगारी सिर्जना गर्न, पुँजी पलायन रोक्नेगरि कदम चाल्नपनि सुझाव दिएका छन् ।
वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्र ६१ खर्बमा आधा अहिले नोक्सानी भएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘राष्ट्र अहिले अप्ठ्यारोमा छ । यसलाई कसरी जोगाउने ? राष्ट्रलाई डुब्न लागेको डुंगालाई उतारेको जसरी जोगाउनुपर्छ ।’ उनले जेन–जी पुस्ताको आन्दोलनमा मृत्युवरण गरेकाहरुको रगतले, जीवनको सहादतले जुनखालको परिवर्तन खोजेको छ त्यहीअनुसार सबैजना लाग्नुपर्नेमा जोड दिएका छन् ।
उनले अब सबैले व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । उनले अहिलेको आन्दोलन पुस्तान्तरणको माग भएकोले अब सोहीअनुसार चल्नुपर्ने बताए । उनले भने, ‘हाम्रो अर्थतन्त्र सुस्त थियो । अर्थतन्त्र विकृतिले भरिएको थियो । भ्रष्टाचारले ग्रसित थियो । मन्दी थियो । युवाहरु अर्थतन्त्रप्रति सन्तुष्ट थिएनन् । घुपैठको कारण आन्दोलनलाई बदनाम गर्ने काम भयो, नोक्सानी धेरै भयो । परिपूर्ति गर्ने तरिका अब गम्भीरतापूर्वक कदम चाल्नुपर्छ ।’
उनले यो जेन–जी आन्दोलनले अब शासकहरुलाई पक्कैपनि भ्रष्टाचार गर्ने कुरा चार चोटी सोच्न बाध्य बनाएको टिप्पणी गरे । यो आन्दोलनको क्रममा २५ अर्ब रुपैयाँ त होटेल सेक्टरको क्षति भएको कुरा बाहिरिएको उल्लेख गर्दै अहिलेको क्षतिको बिमाले धान्न नसक्ने भन्ने कुरा आएको पनि स्मरण गराए ।
साथै, अर्थविद् डा. गोपिलाल न्यौपानेले कलम बोक्ने कलिला हातले परिवर्तन ल्याएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई बनाउने निर्णय परिपक्व निर्णय भएको बताए ।
प्रतिक्रिया