काठमाडौं । काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लाहरुमा पनि मनाउने चलन रहेको छ ।
भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा आठ दिनसम्म मनाइन्छ ।
जात्रा अवधिभर विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ । इन्द्र जात्राको अन्तिम दिन लिङ्गो ढालेपछि जात्रा समाप्त हुन्छ ।
जात्राको मुख्य दिन आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा रहेको छ । जात्रामा राष्ट्रपतिसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत विभिन्न पद र राजनीतिक दलका व्यक्तित्वहरु पनि सहभागि हुन्छन् ।
आजको मुख्य आकर्षणमा हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा रहनेछ । इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ ।
प्रतिक्रिया