काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जारी गरेको दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने समयसीमा वैशाख २१ गतेसम्म थप गरिएको छ। यसअघि वैशाख ७ गतेदेखि निष्काशन गरिएको ऋणपत्रको म्याद थपिएको हो।
बैंकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सात वर्षे अवधि भएको यो ऋणपत्रमा वार्षिक सात प्रतिशत ब्याजदर प्राप्त हुनेछ। एक कित्ताको अङ्कित मूल्य रु १,००० रहेको छ, जसमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन्।
कूल निष्काशनको ६० प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बराबरका १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ। बाँकी ४० प्रतिशत अर्थात् एक अर्ब रुपैयाँ बराबरका १० लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ। तीमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएका छन् भने बाँकी नौ लाख ५० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यस ऋणपत्रलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरेको छ। बैंकको अधिकृत पूँजी ३० अर्ब, जारी पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार, र चुक्ता पूँजी पनि सोही बराबर रहेको छ।
प्रतिक्रिया