Logo

कर्पोरेट

पियोर इनर्जीको आईपीओमा आज अन्तिम मौका, सोमबारसम्म १६ गुणा बढी आवेदन



काठमाडौं । पियोर इनर्जी लिमिटेडले चैत्र २८ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको ११ लाख ९५ हजार २ सय कित्ता आईपीओमा आज (मंगलबार) अन्तिम दिनसम्म आवेदन दिन सकिनेछ। कम्पनी द्वारा सर्वसाधारणका लागि जारी गरिएको साधारण सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन हो।

न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन मिल्ने यस निष्काशनमा सोमबार साँझसम्म १६ लाख ३४ हजार ४ सय ८९ जना आवेदकले १ करोड ९२ लाख ९४ हजार ७ सय ६० कित्ताको लागि आवेदन दिइसकेको जनाइएको छ। यो संख्या माग गरिएको भन्दा १६.१४ गुणा बढी हो।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गरिसकेको छ।

गोल्यान समूहअन्तर्गतको पियोर इनर्जी सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो, जसले बाँकेमा १० मेगावाट क्षमताका दुई वटा सोलार आयोजना सञ्चालन गर्दै आएको छ। दुवै आयोजनाबाट २०८० सालदेखि नै व्यावसायिक उत्पादन भइरहेको छ। हाल २० मेगावाट उत्पादन क्षमताका साथ पियोर इनर्जी नेपालकै सबैभन्दा बढी सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी बनेको छ।

पियोर इनर्जीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ। जसमध्ये संस्थापकको स्वामित्व ८० प्रतिशत रहेको छ भने बाँकी २० प्रतिशत सर्वसाधारणका लागि निष्काशन गरिएको हो।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : २७ बजे