Logo

कर्पोरेट

खल्ती र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सहकार्य: इ-कर्जाको सुविधा ल्यायो



काठमाडौं । नेपालको प्रमुख डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमार्फत नयाँ इ-कर्जा सुविधा सार्वजनिक गरेको छ। अब खल्ती प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमको आधारमा कर्जा प्राप्त गर्न सक्नेछन्, त्यो पनि घरबाटै, बिना लाइनमा बसेर र तुरुन्तै खल्ती खातामा रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ।

यस सहकार्यको अन्तर्गत, बिमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता नम्बर मिल्ने प्रयोगकर्ताहरूले इ-कर्जाका लागि योग्य हुनेछन्। खल्ती र सूर्यज्योति लाइफ इन्स्योरेन्सको जडान भएका कारण, कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन गर्न सकिन्छ। प्रयोगकर्ताहरूले कागजी पक्रिया र अन्य समय खपत गर्ने प्रक्रियाहरू बिना, तुरुन्तै रु ५ हजार सम्मको कर्जा खल्ती खातामा प्राप्त गर्न सक्छन्।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “डिजिटल माध्यमको प्रयोगमार्फत वित्तीय पहुँचलाई अझ सरल बनाउने उद्देश्यले खल्तीले यो सुविधा ल्याएको हो। हामी विश्वास गर्दछौँ कि यस ई-कर्जा सेवाले धेरै ग्राहकलाई लाभ पुर्याउनेछ।”

यस नयाँ सुविधा मार्फत, खल्ती प्रयोगकर्ताहरूलाई तत्काल आर्थिक आवश्यकतामा सजिलो पहुँच सुनिश्चित गरिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  २ : ३८ बजे