Logo

मुख्य समाचार

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा समाधानको माग


११ कार्तिक २०८१, आइतबार  

0
Shares

काठमाडौं । हाल चाडपर्वको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवादका कारण नेपाल विद्युत प्राधिकरणद्वारा उद्योगहरूको बिहीबार रातिदेखि विद्युत काटिएको घटनामा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ ।

संघले यस किसिमको निर्णयले उद्योगहरूको उत्पादन प्रक्रियामा बाधा पुर्याउने  साथै देशको उत्पादन प्रणाली र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्नाले लगानीको वातावरणमा नकारात्मक सन्देश जाने देखिएको जनाएको छ ।

उद्योगहरूको विद्युत आपूर्ति कटौती गर्दा उद्योगहरूको दैनिक सञ्चालनमा अवरोध आई उद्योगको लगानीमा प्रतिकूल असर परेको स्पष्ट पारेको छ । साथै, यसले उद्योगीहरूलाई असहज स्थिति सृजना गरेको तथा जसको समाधान सबै पक्षले  वार्ताद्वारा गरिनुपर्ने संघको माग रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले यस विषयमा प्रतिवेदन बुझाइसकेको भएतापनि उक्त प्रतिवेदनको कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको छ ।

संघले, नेपाल सरकार , नेपाल विद्युत प्राधिकरणसँग उद्योगहरूको लाइन तत्काल जडान गर्न, वर्तमान विवादमा उत्पन्न असमझदारीलाई हटाई सबै पक्षहरू वार्ताद्वारा समाधान खोज्न अपिल गरको छ । यसले उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने संघको विश्वास छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : ०३ बजे