Logo

मुख्य समाचार

पशुपति गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन


६ कार्तिक २०८१, मंगलबार  

92
Shares

काठमाडौं । पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको छ ।

सोमबार साँझ मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको जानकारी दिएको हो ।

अध्ययन समितिका अन्य सदस्यहरुमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहने बताइएको छ ।

समितिले गौशाला धर्मशाला स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, धर्मशालाको आयव्ययको विवरण, लेखा परीक्षण अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्था अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।

अदालतबाट विभिन्न समयमा भएको आदेश तथा फैसलाको कार्यान्वयनको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन, विभिन्न समयमा गठन भएका समितिको प्रतिवेदन र मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोषका निर्णय अध्ययन गर्नेे जिम्मा समितिलाई दिइएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १० : ०० बजे