Logo

कर्पोरेट

सेबोनको अध्यक्ष नियुक्ती प्रक्रिया पुनः अघि बढाइदै


१० आश्विन २०८१, बिहिबार  

92
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया पुनः अघि बढेको छ । अध्यक्षका लागि तीन जना आवेदकलाई पुनः अन्तर्वार्तामा बोलाइयोको हो । 

करिब ३ महिनापछि यस अघिका सबै प्रक्रिया रद्ध गर्ने निर्णय गरेको सिफारिस समितिले सोही प्रक्रियालाई पुनः अघि बढाउने निर्णय गरेको छ । यसअघि असार १४ गते अध्यक्ष नियुक्त गर्न बनेको सिफारिस समितिको बैठकले त्यसअघिसम्मको सबै प्रक्रिया रद्व गर्ने निर्णय गरेको थियो ।

असोज १० गते सिफारिस समितिले सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो ।

 असोज ९ गते बसेको सिफारिस समितिको बैठकले असोज १८ गते विहान ८ बजे यस अघि संक्षिप्त सूचीमा परेर पनि व्यवसायिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी नभएका तीन जना आवेदकहरूलाई बोलाउने निर्णय गरेको हो।
पुस २० गतेपछि रित्त पूँजीबजारको नियामक निकाय बोर्ड अध्यक्ष नियुक्तीका लागि माघ ३

गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा सरकारले तीन सदस्यीय सिफारिस समिति गठन भएको थियो । उक्त समितिले बोर्ड अध्यक्ष नियुक्तिका लागि कार्यविधिनै बनाएर फागुन १६ गतेदेखि ३० गतेसम्म आवेदन माग गर्दा १९ जनाको आवेदन संकलन गरेको थियो । 

ती आवेदकहरूमध्येबाट योग्य पाँच जनाको नाम समेत सर्टलिष्ट गरी अन्तवार्ताको लागि बोलाइएकोमा पाँच जनामध्ये सन्तोष श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्र अन्तरवार्तामा सहभागी भए । सर्टलिष्टमा परेका पाँच जनामध्ये डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाई दोस्रो पटक बोलाउदा पनि अन्तरवार्तामा सहभागी भएनन् ।

सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जनालाई असार २ गते पहिलो पटक व्यवसायिक कार्ययोजना प्रस्ततुतीकरण र अन्तरवार्ताका लागि बोलाइएकोमा दुई जना मात्र सहभागी भएपछि बाँकी उम्मेद्वारका लागि असार ५ गते पुनः अन्तरवार्तामा बोलाएको थियो । 

उक्त दिन पनि तीन उम्मेद्वार सहभागी नभएपछि सिफारिस समितिले महान्यायाधिबक्ताको कार्यालयबाट कानुनी राय माग गरेको थियो । महान्यायाधिवक्ताको कार्यालयमा दुई जनाको मात्र नाम मन्त्रिपरिषदमा सिफारिस गर्न नसकिने धितोपत्र सम्बन्धी ऐन र कार्यविधि बमोजिम न्यूनतम तीन जना व्यक्तिको नाम सिफारिस गर्नुपर्ने राय दिएसँगै सिफारिस समितिले सो अवधिसम्मको सबै प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।  

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ११ : ३६ बजे