काठमाडौं । पाँचौं स्थापना दिवसको सुअवसरमा “निस्टा आवाजः सृजनामा श्रम आवाज” भन्ने मूल नाराका साथ मिति २०८१ साल आश्विन १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने छ ।
संस्थागत तथा निजी विद्यालय तथा महाविद्यालयमा कार्यरत प्राध्यापक/शिक्षक/कर्मचारीहरूको पेसागत संस्था निस्टाले राष्ट्रव्यापी बृहत् खुला कविता प्रतियोगितामा सहभागी हुन चाहने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण कविहरूलाई आह्वान गरेको हो । निस्टाले कविता प्रतियोगितासम्बन्धी सर्त तथा नियमहरू राखेको छ । निस्टाका अनुसार कविता प्राध्यापक, शिक्षक एवं आम श्रमिकहरूको कर्तव्य र अधिकार, श्रम चेतना, श्रम सम्बन्ध, ट्रेड युनियन आन्दोलनको अभ्यास, ट्रेड युनियन संस्कृति जस्ता विषयक्षेत्रभित्र रहेर शास्त्रीय लोक वा मुक्त लय ढाँचामा मौलिक तथा प्रतियोगिता अवधिसम्म अन्यत्र प्रकाशन-प्रसारण नभएको हुनुपर्ने छ ।
कविता प्रीति/निकोड फन्टमा टाइप गरी हालसालैको एकप्रति पासपोर्ट साइजको फोटो तथा कविको सङ्क्षिप्त परिचयसहित पठाउनुपर्ने छ। निर्धारित समयभित्र प्राप्त भएका कविताहरूलाई निर्णायक मण्डलबाट मूल्याङ्कन गराई कविहरूको सङ्क्षिप्तसूची निस्टाले प्रकाशित गर्ने छ ।
निर्णायक मण्डलद्वारा वाचनका लागि छनौट भएका कविहरूलाई असोज १६ गतेको अन्तिम प्रतियोगितामा सहभागी गराइने छ। कविता वाचनका लागि उपत्यका बाहिरबाट आउने कविहरूलाई तोकिएबमोजिम आवागमन तथा वासस्थानको सुविधा निस्टाले उपलब्ध गराउने छ। साथै विदेशबाट कविता पठाई छनोटमा पर्नुभएका कविहरूको कविता प्रविधिको प्रयोगद्वारा प्रत्यक्ष वाचन गराइने छ निष्टाले जनाएको हो ।
अन्तिम प्रतियोगिताका लागि छनोट भएका र अन्य उत्कृष्ट कविताहरू समावेश गरी सङ्ग्रहका रूपमा कृति प्रकाशित गरिने निष्टाले बताएको छ । कविता मिति २०८१ असोज ८ गते बेलुका १२ बजेभित्र [email protected] इमेल ठेगानामा पठाउनु पर्ने छ ।
छनोट भएका कविताबाट वाचन समेतको मूल्याङ्कन गरी चारजना कविहरूलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिनेछ । निष्टाको अनुसार पुरस्कारसम्बन्धी विवरण प्रथम पुरस्कार एक जनालाई नगद रू ५० हजार सहित प्रमाणपत्र, द्वितीय पुरस्कार एक जनालाई रू ३५ हजार सहिय प्रमाणपत्र र तृतीय पुरस्कार २ जनालाई रू २० हजार सहित प्रमाणपत्र दिइने छ ।










प्रतिक्रिया