Logo

मुख्य समाचार

उपसभामुखले नैतिकताका आधारमा राजीनामा दिँदा हितकर हुन्छ : महेश बर्तौला



काठमाडौँ । सत्तापक्षका मुख्य सचेतक तथा एमाले सांसद् महेश बर्तौलाले उपसभामुख इन्दिरा रानालाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् । बर्तौलाले उपसभामुख रानाले पदीय आचरणविपरीत काम गरेको जिकिर गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिँदा राम्रो हुने बताएका हुन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा रानालाई हटाउनेबारे छलफल भएको विषयमा रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘माननीय उपभामुखबाट पद अनुकूल आचरण नभएको यथार्थ हो । उहाँले जुन ढङ्गले अमेरिकी दूतावासमा भिसाको डेटका लागि अनधिकृत पत्रचार गर्नुभयो । त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र मर्यादा उदाङ्गो भएको छ । संसदीय मर्यादा च्युत भएको छ । कूटनैतिक मर्यादालाई सामान्य रूपमा पनि ख्याल नगरेको देखिन्छ । यस मामिलामा उपसभामुख रानाले आफैले सोचेर राजीनामा दिनु बढ्ता हितकर हुन्छ ।’

सरकारले कुनै कदम चाल्ने भन्दा पनि उनले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बर्तौलाले दोहोर्याए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १२ : १५ बजे