Logo

समाचार

संविधान संशोधनमार्फत अधिकारका विषय सम्बोधन हुनेछ : मन्त्री सिंह


२५ श्रावण २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा सबैको लागि सहज वातावरण निर्माण गर्ने हिसाबले वर्तमान सरकार अगाडि बढेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित विश्व आदिवासी जनजाति दिवस मूल समारोहमा उनले अधिकारका विषयमा उठेका सवाल र कमी कमजोरीहरुलाई सम्बोधन गर्दै समाजमा राम्रो वातावरण बनाउनको लागि अघि बढेको बताएका हुन् ।

उनले भने, ‘अधिकार दिने विषयमा जुन कमी कमजोरीहरु भइरहेको छ र समाजमा उठेका असन्तुष्टीका कुराहरु छन्, त्यसलाई समाधान गर्नको लागि संविधान संशोधन गरेर समाजमा राम्रो वातावरण बनाउनको लागि यो सरकारले आफ्नो कामहरु अगाडि बढाउने छ भन्ने कुरा भन्न चाहन्छु ।’

उनले संविधानको पालना गराउन, संविधानमा अपूरो भएका कुराहरुलाई पूरा गर्न र निश्चित विधि र प्रक्रियाबाट संविधान संशोधन गर्नको लागि वर्तमान सरकार बनेको पनि बताए ।

यसको साथै, उनले प्राप्त भएको अधिकार सुरक्षित गर्दै यसलाई कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्ने पनि बताए ।

उनले भने, ‘प्राप्त भएको अधिकार सुरक्षित गर्दै यसलाई कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्छ । अधिकार दिलाउने र दिलाएको कुरालाई बिर्सिने काम गर्नु हुदैँन् । नयाँ संविधान जारी भएको छ, संविधानको भावना र मर्म अनुरुप शासन व्यवस्थामा पनि पालना गर्ने र संविधानले दिएको अधिकारलाई कुन कुन तहलाई दिने हो त्यो अनुसारको कानून बनाएर अधिकारहरु दिनुपर्छ ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ४ : ४५ बजे