Logo

मुख्य समाचार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै



काठमाडौं । शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले बताए ।

बैठकले बजेट अधिवेशनमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे निर्णय गर्नेछ । बैठकमा सबै सांसदहरूलाई धारणा राख्ने अवसर दिइने प्रमुख सचेतक लेखकले बताए । देशको गृहमन्त्रीमाथि नै सहकारी ठगीजस्तो अपराधको आरोप लागेको छ । तर सरकारले छानविन गर्न मानेको छैन, उनले भने, हामी यो परिस्थितिमा सबै सांसदहरूको विचार र धारणा सुन्न चाहेका छौँ ।

त्यसकारण आजको बैठकमा सबै सांसदहरूले धारणा राख्ने हुन्छ, आजै सकिएन भने शुक्रबार पनि बैठक चल्छ । बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानविन समिति गठन लगायत विषयहरुमा छलफल हुने उनले बताए ।

शुक्रबारदेखि बजेट अधिवेशन बोलाइएको छ । कांग्रेसले भने सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागमा अडान राख्दै आएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ७ : ०४ बजे