Logo

मुख्य समाचार

विपद् व्यवस्थापनको अभ्यास अवलोकन गर्न सुदूरका जनप्रतिनिधि ललितपुरमा मेयर महर्जन भन्छन्— विपद् व्यवस्थापनमा संघीय सरकारले ध्यान दिएन



ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले पर्याप्त ध्यान दिन नसकेको बताएका छन् ।

विपद् व्यवस्थापन र न्यूनीकरणको सन्दर्भमा भएका असल अभ्यासहरुको अवलोकनका लागि ललितपुर महानगर आएका सुदुरपश्चिम प्रदेशका धनगढी उपमहानगर, अमरगढी नगरपालिका डडेलधुरा र जयपृथ्वी नगरपालिका बझाङका नगप्रमुख र कर्मचारीसँगको छलफल कार्यक्रममा उनले यस्तो अनुभव सुनाए ।

स्थानीय तहले आ—आफ्नो तरिकाले विपद्को बारेमा चेतना जगाउन प्रतिकार्य अभ्यासका कार्यहरु गरेपनि संघीय सरकारले राष्ट्रियस्तरको ड्रिल नगरेको उनले स्पष्ट पारे । उनले भने, यो भेटघाटले संघीय सरकारसँग राष्ट्रिय स्तरको ड्रिल गर्न प्रस्ताव गरौं ।

सुुदूर पश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सुपर परियोजनाको समन्वयका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी, भूमिका र पहलकदमी आदान प्रदान गर्न यो अवलोकन भ्रमण आयोजना गरिएको हो ।

ललितपुर महानगरले विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको बताउँदै महानगर प्रमुख छिमेकी पालिकालाई समेत विपद्का बेला पर्याप्त सहयोग गरेको बताएका छन् ।

महानगरले सहरभित्रका अन्य चार ठाउँमा पनि विपद व्यवस्थापन तथा न्यूनीकरण गर्न अन्य चार स्थानमा विपद् उपकेन्द्र खोल्ने तयारी गरेको बताए । प्रभावकारी सेवा प्रवाह गर्न सक्ने दमकल, नगर प्रहरी, एम्बुलेन्सका लागि विपद्का बेला जोखिम न्यूनीकरण गर्न महानगर सवल र सफल भएको उनको दाबी थियो ।

महानगर प्रमुख महर्जनले भने, हामीले दमकलसँगसँगै एम्बुलेन्स पनि जाने व्यवस्था मिलाएका छौं, एम्बुलेन्ससँगै जाँदा, घाइतेलाई अस्पताल छिटो पु¥याउन सजिलो हुन्छ, जसले गर्दा मनवीय क्षति कम हुन्छ । महानगरले आगलागी जस्ता विपद्का बेला चारमिनेट भित्र घटना स्थलमा दमकल र एम्बुलेन्स र नगरप्रहरी पुग्ने नीति लिएको बताए ।

धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले एक्लो प्रयासले मात्रै विपद व्यवस्थापन र न्यूनीकरण संभव नहुने बताए । उनले भने, मिलेर काम गरौँ, मिलेर काम गर्दा कसको भूमिका के हो प्रष्ट हुनुप¥यो ।

गोपाल हमालले विपद् व्यवस्थापनमा धनगढीले उल्लेख्य काम गरेको बताए । ललितपुर महानगरबाटे सबै क्षेत्रमा धेरै कुरा सिकेको बताउँदै भने, अरुले आफ्नो पालिकामा भएको काम हामीलाई देखाउँदैनन्, तर ललितपुरका मेयरले हामीले सजिलै सिकाउनु हुन्छ, सिक्नका लागि उहाँ साह्रै सजिलो मान्छे हुनुहुन्छ । धनगढीले युवा र बालबालिकालाई विपद्का बारेमा सक्षम र जानकार बनाएको बताउँदै भने, विपदका प्रयोग हुने सामग्रीलाई विद्यालयमा राखेका छौं, विद्यालयमा ती सामग्री राख्दा प्रभावकारी भएको छ । धनगढीले सरसफाई लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको उनले दाबी गरे ।

अमरगढी नगरपालिका डडेलधुराका प्रमुख डिल्लीराज जोशीले विपद्का बेलामा अपनाउनुपर्ने सजगताका बारेमा जानकारी दिन ड्रिल अत्यावश्यक र महत्वपूर्ण भएको बताए । उनले भने,केन्द्रीय स्तरमा मात्रै होइन, क्षेत्रीय स्तरमा पनि ड्रिल आयोजना गर्नुपर्छ । संघीय सरकारले विपद् जोखिम न्यूनीकरणलाई महत्व नदिएको पनि उनले आरोप लगाए ।

जयपृथ्वी नगरपालिका बझाङका प्रमुख चेतराज बजालले आफ्नो नगरपालिकाको भौगोलिक अवस्थाको बारेमा चर्चा गर्दै आफ्नो नगरपालिका भूकम्प र बाढीको जोखिममा रहेको बताए । गाउँमा दमकल जानसक्ने सडक निर्माण गर्न बजेट अभावका कारण पालिका असमर्थ भएको बताउँदै साँघुरा सडकका कारण सहरका अन्य ठाउँमा पनि दमकल पुग्न कहिले काहिं हम्मे हम्मे हुने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ८ : ४८ बजे