Logo

मुख्य समाचार

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिनेबारे हतार नगर्न ओलीको निर्देशन



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

नेता रावलले शनिबार राति अध्यक्ष ओलीसँग करिब २ घण्टा गरेको भेटवार्तामा ओलीले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष ओलीसँग रावलसँगै प्रमुख सचेतक सुरेन्द्र पालले बालकोटमा भेटवार्ता गरेका थिए ।

अध्यक्ष ओलीसँगको छलफलमा समेत ओलीले आफूहरूलाई तत्काल विश्वासको मत दिन सुझाव नदिएको बताए ।

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमाले सकारात्मक नभएपछि शनिबारलाई समय सारिएको थियो । तर शनिबार पनि प्रदेश सभा बैठक बस्न नसकेर अनिश्चित कालका लागि स्थगित भयो । शनिबार नै नेता रावल र पाल पनि अध्यक्ष ओली भेट्न काठमाडौँ आएका थिए ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी माओवादी, एमाले, नागरिक उन्मुक्ति (रञ्जिता समूह)को सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत लिने समय जेठ ५ सम्म रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ११ : ३८ बजे