Logo

मुख्य समाचार

मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ



काठमाडौं । राति फोनमा ठूलो स्वरमा बोलेको भन्दै आफ्नै फुपुकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीको तत्कालिन कुहु गाविस–५ का समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित कृषि कार्यालयमा जेटिए २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरी फरार समरलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो ।

सुनमाया मामासँग काठमाडौंको तत्कालीन सेतीदेवी गाविस–३ तौथलीस्थित कुष्ठरोग आरोग्य आश्रममा बस्दै आएकी थिइन् । १ कात्तिक २०७० कात्तिक १ मा उनी आश्रमकै शौचालयभित्र मृत भेटिएकी थिइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार घटना अनुसन्धान गर्दा काठमाडौंमा ज्यामी काम गर्ने समरबहादुर बाबुलाई भेट्न आश्रम जाने गरेको खुल्यो । २०७१ असोज ३१ गते बेलुका बाबु बाहिर गएका कारण कोठामा समर र सुनमाया मात्र थिए ।

दुवै जनाले बेलुकाको खाना खाएपश्चात सुतिसकेपछि सुनमायाले मोबाइलमा कुराकानी गर्दा समरले ‘ठूलो स्वरमा कुरा नगर, म थाकेर आएको छु सुत्नदेउ’ भन्दै मोबाइल फाल्दा विवाद बढेको बताइएको छ । विवाद बढ्दै जाँदा सुनमायाले समरलाई हँसियाले प्रहार गरेकी थिइन् । घटनामा समरको बुढी औंलामा चोट लागेको थियो ।

उक्त हँसिया खोस्दा हातमा टोकेपछि समरले सुनमायाको टाउकोमा हिर्काए । सुनमाया बेहोस भइन् । लामो समयसम्म पनि होसमा नआएपछि घाँटी थिची मारेर शव नजिकैको शौचालयमा पु¥याएर समर भागेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसीले बताइन् ।

सुनमायाको हत्यापश्चात समर भारततर्फ भागेका थिए । केही दिनअघि तौथलीमा बाबुलाई भेट्न आउँदा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : ४५ बजे