Logo

मुख्य समाचार

प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र



मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । एक वर्षमा निर्माण सम्पन गर्ने सम्झौता अनुरुप ठेक्का सम्झौता भएर काम अगाडि बढेपछि उक्त प्रहरी चौकीका लागि कर्णाली प्रदेश सरकारले बजेट नदिएपछि भवन निर्माण कार्य अलपत्र परेको हो ।

सोरु गाउँपालिकामा रहेको कालै प्रहरीको भवन वडा नम्बर ९ मा निर्माण थालनी गरिएको थियो । एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७६ जेठ २१ गते अमर निर्माण जेभीले २ करोड ४६ लाख,८४ हजार ११७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०७७ जेठ २० गतेभित्र भवन निर्माण सकी हस्तान्तरण गर्नुपर्ने उक्त भवन अलपत्र बनेको छ ।
कर्णाली प्रदेश सरकार आन्तरीक मामिला तथा कानुन मन्त्रालयले प्रहरी चौकी कालैको लागि पर्याप्त बजेट विनियोजन नगरेपछि भवन निर्माण अघि बढाउन नसकेको अमर मदुर जे.भी बिरेन्द्रनगरका प्रोप्राईटर राजबिन्द्र प्रताव सापकोटाले बताए ।

कार्यालयको ब्यारेक भवन, शौचालय तथा स्नान गृह निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक कूल ५० लाख निकाशा गरेको थियो । सो रकममध्ये पनि निर्माण व्यावसायीले ४८ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ भुत्तानी पाएकाले काम अगाडि बढाएको सापकोटाले जानकारी दिए ।

त्यसपछि सम्झौता अनुसारको रकम निकाशा नभएपछि भवनको दुई तला उकासेर छाडिएको छ । बजेट अभावकै कारण निर्मार्ण कार्यले गति लिन नसकेको सापकोटाको भनाई छ । त्यहाँ मजदुरी गरेकाले समेत ठेकेदारबाट भुक्तानी नपाएको गुनासो गरेका छन् ।

‘५० दिन बढी हामीले काम ग¥यौँ । ढुंगा बोक्ने, गिटी कुट्नेदेखि बालुवा बोक्ने सम्मका काम गरेको एक रुपैयाँ पनि नदिएर ठेकेदारले बेपत्ता भएको छ । घर व्यवहार चलाउन भारतमा मजदुरी गर्न जाने हामीले गाउँमै काम पायौं भनेर दङ्ग परेरक कमा गरियो, ज्याला समेत नपाउँदा घरमा जहान छोराछोरीलाई खुवाउन मुस्किल छ । बनाएको भवन पनि पशु चौपाए बस्ने ठाउँ बनेको छ,’ कामदार धर्मराज चौलागाँईले भने ।

तर, निर्माण व्यवसायी सापकोटाले भने आफूले कामदारलाई चाहेर पनि मजदुरीको रकम सरकारबाट भुक्तानी नपाएका कारण दिन नसेकेको बताए । ‘आफूसँग भएको रकम पनि त्यही लगानी गरियो । सरकारले रकम निकाशा नगरेकोले मजदुरलाई दिन नसकिएको हो । हाम्रो तर्फबाट काम गरेको रकम भुत्तानीका आग्रह गर्दा पाउन सकिएन । अहिले सर्वोच्चमा मुद्दा पुगेको छ,’ उनले भने ।

कालै प्रहरी चौकी भने स्थानीयको घरमा भाडा लिएर त्यहीबाट सञ्चालन हुँदै आएको छ । २ करोड ४६ लाख,८४ हजार ११७ रुपैयाँमा सम्झौता भएको उक्त भवनको निर्माण लागत बढेर अहिले ३ करोड बढी पुगेको छ । अलपत्र प्रहरी चौकी निर्माण कार्यलाई गति दिन आफ्नोे लातुकदार निकायमा आफूले पनि पहल गरिरहेको कालै प्रहरी चौकीका प्रहरी नायव उपरीक्षक बिरेन्द्र बहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ९ : ३४ बजे