Logo

मुख्य समाचार

अर्बपति व्यापारी मस्कसँग रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री



काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलोन मस्कलाई ‘अहंकारी’ भनेका छन् । अस्ट्रेलियाको सिड्नीमा पादरीसँग भएको छुरा प्रहारको भिडियो एक्सबाट नहटाएपछि अल्बानीज मस्कसँग रिसाएको बताइएको छ ।

केही दिन अघि अस्ट्रेलियाको सिड्नीको एउटा चर्चमा छुरा प्रहारको घटना भएको थियो । एक १६ वर्षीय केटाले एक चर्चका पादरीलाई इस्लामको आलोचना गरेको आरोपमा छुरा प्रहार गरेका थिए । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अष्ट्रेलियाका दूरसञ्चार नियामकहरूले पछि एक्सलाई यस भिडियोसँग सम्बन्धित केही पोस्ट र टिप्पणीहरू हटाउन आग्रह गरेका थिए ।

तर, एक्सले यस विषयमा कारबाही नगरेपछि अष्ट्रेलियाको अदालतले सोसल मिडिया प्लेटफर्मलाई टेलिकम नियामकको आदेश पालना गर्न भनेको छ । पछि, एक्सले यो भिडियोलाई आफ्नो प्लेटफर्मबाट पूर्ण रूपमा हटाउनुको सट्टा अष्ट्रेलियामा रहेका प्रयोगकर्ताहरूका लागि मात्र हटाएको थियो । एक्सको तर्क थियो ‘अष्ट्रेलियाली सरकारले संसारभर देखाइएका सामग्रीमा मनमानी गर्न सक्दैन ।’ एक्सको जवाफपछि अष्ट्रेलियाका प्रधानमन्त्रीले एलोन मस्कलाई निशाना बनाएका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १० : ५९ बजे