Logo

अर्थ

कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडौं उपत्यकाका बजारमा



इटहरी । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौं उपत्यकासहितका बजारमा पनि बिक्री बितरण सुरु गरेको छ । संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवा लगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका सहरहरूमा बजारीकरण सुरु गरेको हो ।

झन्डै २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेपछि उपत्यका केन्द्रित व्यापार थालेको अध्यक्ष यादव ढकालले बताए । अध्यक्ष ढकालका अनुसार बजारीकरणको पहिलो चरणमा काठमाडौँको चाहवहिलमा शीत भण्डार स्थापना गरिएको छ ।

पाँच टन क्षमता रहेको भण्डारमा दुग्धजन्य सामाग्रीहरु स्टोर गरी काठमाडौँ, भक्तपुर,ललितपुर सहित काभ्रेपलान्चोकका बजारमा विक्री वितरण गर्दै आएको संस्थाका बजार प्रमुख नवराज नेपालले जानकारी दिए । कामधेनुले यस आर्थिक वर्ष भित्रमै उपत्यकाका २० मुख्य बजारहरूमा विक्री केन्द्र खोल्न लागेको बजार प्रमुख नेपालले बताए ।

उपत्यकामा समेत खुल्ला दुग्ध पदार्थहरू जथाभाबी बेचबिखन हुने पाइएकाले सरकारले अनुगमन गरी त्यस्ता कार्य निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ । उपभोक्ताले गुणस्तरीय दुग्ध पदार्थहरूको माग अत्यधिक मात्रामा गरिरहेको अवस्थामा उपत्यकामा आइसकेपछि थप हौसला मिलेको दाबी गरे ।

इटहरी उपमहानगरपालिका २० स्थित तरहरा प्रधान कार्यालय रहेको कामधेनुमा प्रत्यक्ष रूपमा पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, तेह्रथुम लगायत जिल्लाका एघार हजार कृषकहरू आबद्ध रहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ८ : ५३ बजे