Logo

मुख्य समाचार

‘संविधान कार्यान्वयन अत्यन्तै फितलो भयो’



काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले संविधानमा उल्लेख भएका व्यवस्थाहरु कार्यान्वयनको पाटोमा भने अत्यन्तै फितलो भएको बताएका छन् ।

काठमाडौंमा सोमबार नेविसंघद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क गरिएको भनिए पनि तीन तहमा नै कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको बताए ।

उनले भने, ‘नेपालको संविधान समाजवादउन्मुख छ । नेपालको सार्वभौम संसदमा प्रतिनिधित्व गर्नुहुने ९५ प्रतिशतभन्दा बढी संघीय सांसदहरुले समाजवादलाई आफ्नो विधानमा अपनाएर समाजवादउन्मुख संविधान भनेर त्यही नारा लिएर जनताको सामु भोट माग्न जान्छौं । संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क गरिएको भनिएको छ । तर, चाहे त्यो संघीय सरकारबाट किन नहोस् प्रदेश र स्थानीय सरकारबाट किन नहोस्, कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको कारण देशमा भ्रष्टाचारहरु बढिरहेको छ । आज व्यवस्था परिवर्तन त गरौं तर विद्यालय र विश्वविद्यालयको अवस्था परिवर्तन हुनै सकेन ।’

शिक्षा प्रणालीलाई ध्वस्त पार्‍यो भने त्यो देश आफै ध्वस्त हुने भनाइ चरितार्थ गर्ने गतिविधितर्फ मुलुक रहेको उनले दुखेसो गरे । मुलुकलाई भ्रष्टाचारमुक्त, सबैको विश्वास र आशाको केन्द्र बनाउन आवश्यक रहेको उनले बताए ।

उनले भने,‘आज देशमा हामी सबैको चासो भनेको सुशासन हो । भ्रष्टाचारमुक्त समाज हामी सबैको एउटा विश्वास र आशाको केन्द्र बनोस् भन्ने अभिलाषा छ ।’

सरकारले नेपाललाई एजुकेशन हब बनाउने भने तापनि नारा एकातिर तर व्यवहार अर्कोतिर भएको भनाइ उनले राखे ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ५७ बजे