Logo

मुख्य समाचार

प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिन अस्वीकार



काठमाडौं । प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिन अस्वीकार गरिएको छ । सदस्यता दिने सम्बन्धी संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा अमेरिकाले भिटो प्रयोग गरेपछि प्यालेस्टाइनलाई सदस्यता दिन अस्वीकार गरिएको हो ।

१५ सदस्यीय सुरक्षा परिषद्मा १२ सदस्य राष्ट्रले पक्षमा मतदान गर्दा एक सदस्यले भने विपक्षमा मतदान गरे । यसैगरी २ सदस्य राष्ट्र भने मतदान प्रक्रियामा सहभागी भएनन् । १५ सदस्यीय सुरक्षा परिषद्मा ५ स्थायी राष्ट्र रहेकाले उनीहरुले भिटो प्रयोग गर्दा कुनै पनि प्रस्ताव पारित हुँदैन ।

प्यालेस्टाइनको पक्षमा बहुमतले सदस्यता दिनुपर्ने मतदान गरे पनि अमेरिकाको भिटोका कारण यो प्रस्ताव असफल भएको हो । स्थायी सदस्यमा चीन, फ्रान्स, रसिया, बेलायत र अमेरिका रहेका छन् । यी पाँच मध्य एकलेमात्रै भिटो प्रयोग गर्दा प्रस्तावहरु असफल हुने गरेका छन् ।

गाजामा जारी लडाइँको बीचमा, प्यालेस्टाइनले अप्रिल २ मा संयुक्त राष्ट्रका महासचिवलाई पत्र पठायो र संगठनको सदस्यताका लागि प्यालेस्टाइनको आवेदनलाई पुनर्विचार गर्न अनुरोध गरिएको थियो । प्यालेस्टाइनले सन् २०११ मा पहिलो पटक संयुक्त राष्ट्र संघमा निवेदन दिएको थियो ।

प्यालेस्टाइनको पछिल्लो अनुरोधपछि संयुक्त राष्ट्र प्रमुखले उक्त पत्र सुरक्षा परिषदलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ८ : ०२ बजे